महोत्तरी – पछिल्लो समय तराई–मधेशका केही जिल्लामा देखिएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै महोत्तरी प्रशासनले सीमा नाकाबाट नेपाल प्रवेश गर्ने सबै यात्रुका लागि आधिकारिक परिचयपत्र अनिवार्य गरेको छ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा राजनीतिक दलका प्रतिनिधि तथा सम्बन्धित निकायका पदाधिकारीसँग बसेको समन्वय बैठकले छिमेकी मुलुकबाट सीमा नाका हुँदै नेपाल प्रवेश गर्ने सबै यात्रुले आधिकारिक परिचय खुल्ने परिचयपत्र देखाएपछि मात्र प्रवेश गर्न पाउने निर्णय गरेको हो। बैठकले जिल्लामा शान्ति, सुरक्षा, अमनचयन तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ।



परापूर्वकालदेखि कायम रहँदै आएको सामाजिक सद्भाव, भाइचारा र सांस्कृतिक एकतालाई अक्षुण्ण राख्न जिल्लावासीसँग अपिल गर्दै हिंसात्मक, द्वन्द्वमूलक तथा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन आग्रह गरिएको छ। प्रशासनले सामाजिक सञ्जालमा धार्मिक तथा सामाजिक सद्भाव भड्काउने अफवाह, भ्रामक, अपुष्ट र द्वेषपूर्ण सामग्री नपोस्ट गर्न तथा त्यस्ता सामग्री साझा नगर्न पनि सबैलाई सचेत गराएको छ।
यस्तै, धार्मिक जुलुस, र्याली, सभा वा अन्य सार्वजनिक कार्यक्रम सञ्चालन गर्नुअघि स्थानीय प्रशासनलाई अनिवार्य रूपमा पूर्वसूचना दिई आवश्यक स्वीकृति लिन आग्रह गरिएको छ। बैठकले जिल्लाभर शान्ति सुरक्षा कायम राख्न सम्पूर्ण सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्ने निर्णय गरेको छ। संवेदनशील क्षेत्रमा सुरक्षा गस्ती बढाइने, शंकास्पद गतिविधिमाथि निगरानी कडा पारिने तथा आवश्यक अनुसन्धान र कानुनी कारबाही अघि बढाइने प्रशासनले जनाएको छ।
सुनसरीबाट सुरु भएको तनावको प्रभाव मधेशका अन्य जिल्लामा समेत पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रशासनले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र सर्वसाधारणसँग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।





