धनुषा । धनुषाको जनकपुरधाममा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी एकतालाई सुदृढ बनाउने उद्देश्यले शनिबार सर्वपक्षीय शान्ति सद्भाव र्याली आयोजना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषा र जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा सम्पन्न र्यालीमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, प्रतिनिधिसभा सदस्यहरू मनिष झा, मातृका यादव, रामविनोद यादव, विश्वराज पोखरेल, ज्ञयज्ञमणि न्यौपाने, दुवै समुदायका नागरिक अगुवा, मानवअधिकारकर्मी, नागरिक समाजका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।



जनकपुरधामको रेल्वे स्टेशन क्षेत्रबाट सुरु भएको र्यालीले नगरका विभिन्न क्षेत्रको परिक्रमा गर्दै सामाजिक सद्भाव कायम राख्न सबै नागरिकलाई आह्वान गरेको थियो। सहभागीहरूले ‘सामाजिक सद्भाव कायम गरौँ’, ‘शान्ति र एकता हाम्रो साझा दायित्व हो’ लगायतका सन्देश अंकित ब्यानर बोकेर नगर परिक्रमा गरेका थिए।
पछिल्ला दिनहरूमा देशका केही स्थानमा देखिएका सामाजिक तथा साम्प्रदायिक तनावका घटनालाई मध्यनजर गर्दै जनकपुरधाममा शान्तिपूर्ण वातावरण कायम राख्न सबै पक्षले संयमता अपनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए। उनीहरूले कुनै पनि अफवाह वा उत्तेजनात्मक गतिविधिको पछि नलागी कानुनी शासन र सामाजिक सद्भावलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
कार्यक्रममा सहभागी वक्ताहरूले जनकपुरधाम धार्मिक, सांस्कृतिक तथा सामाजिक विविधताको प्रतीक शहर भएकाले यहाँको आपसी सहअस्तित्व र भाइचाराको सम्बन्धलाई अझ सुदृढ बनाउन सबै समुदायको साझा प्रयास आवश्यक रहेको बताएका थिए। सामाजिक एकता कायम रहे मात्र विकास, समृद्धि र स्थायी शान्ति सम्भव हुने उनीहरूको भनाइ थियो।

र्यालीलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासनले आवश्यक सुरक्षा व्यवस्था मिलाएको थियो।
आयोजकका अनुसार शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश समाजका सबै तहसम्म पुर्याउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो। सहभागीहरूले आपसी सम्मान, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई कायम राख्दै कुनै पनि प्रकारका विभाजनकारी गतिविधिप्रति सचेत रहन सबै नागरिकसँग आग्रह गरेका छन्।
प्रमुख जिल्ला अधिकारी लुइँटेलका अनुसार समुदायबिच आपसी सद्भाव, शान्ति र सामाजिक एकता कायम गर्ने उद्देश्यले र्याली आयोजना गरिएको हो। उहाँले निषेधाज्ञा हटाउने विषयमा सरोकारवालासँगको वार्तापछि निर्णय गरिने जानकारी दिनुभयो।
र्याली समापन कार्यक्रममा प्रतिनिधिसभा सदस्य मनिष झाले वार्ताको तयारी भइरहेको बताउँदै जनकपुरधामको अवस्था छिट्टै सामान्य बनाउन प्रयास भइरहेको जानकारी दिनुभयो।





