जीवनराज दाहाल
बर्दिबास। भोटेकोसी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले बर्दिबासस्थित ग्लोबल एकेडेमी परिवारले रु. १ लाख २३ हजार ४ सय ५६ सहयोग गरेको छ ।



ग्लोबल एकेडेमी परिवारले विपद्का कारण समस्यामा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगस्वरूप प्रदान गरेको हो । बाढीबाट ठूलो जनधनको क्षति भएको र प्रभावित परिवारहरू कठिन परिस्थितिबाट गुज्रिरहेका बेला राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराइएको विद्यालय परिवारले जनाएको छ ।

शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै आएको ग्लोबल एकेडेमीले विपद्को समयमा पीडितको साथमा उभिनु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ । विद्यालय परिवारको यो सहयोगले बाढीपीडित परिवारको राहतमा केही योगदान पुग्ने अपेक्षा गरिएको छ ।
विपद्का बेला सबै क्षेत्रबाट प्राप्त हुने सहयोगले प्रभावित परिवारलाई राहत दिन तथा उद्धार र पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । ग्लोबल एकेडेमी परिवारको सहयोगले पनि पीडितप्रति मानवीय संवेदना र सामाजिक जिम्मेवारीको भावना प्रस्तुत गरेको छ ।




