
महोत्तरी,(औरही)- बडादसैँको पहिलो दिन घटस्थापनामा औरही नगरपालिका ७ स्थित सोनामाई मन्दिर शक्तिपीठ दर्शानार्थीहरुको भीड लागेको छ। महोत्तरीको प्रसिद्ध सोनामाई मन्दिरमा आजदेखि भूत मेला पनि शुरु भएको छ । दसैंका बेला वर्षौ देखि नै भूतमेलाका लागि प्रसिद्ध सोनामाई मन्दिरमा आज घटस्थापना देखि भूत मेला शुरु भएको हो।
हरेक वर्ष झै यस वर्ष पनि भुत मेलाको आयोजना गरिएको सोनामाई मन्दिरका पुजारी कामेश्वर झाले बताए। मेलामा हजारौं पीडित (कारनी) र दर्शनार्थीको भीड लाग्छ । भूतप्रेत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका हजारौँ पीडित प्रत्येक वर्ष सो मेलामा आउँछन् ।

सोनामाईको कृपाले यहाँबाट मानिसहरु निको भएर जाने गरेको जनविश्वास छ । वर्षौंदेखि भूत, पिशाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवनमृत्युको दोसाँधमा परेकाहरु सोनामाईको सीमाक्षेत्रमा आउनेबित्तिकै आफू कसबाट सताइएको भन्नेबारे लड्दैपड्दै, रुँदैहाँस्दै आफैँ बक्न थाल्दै देवी दरबारसम्म पुग्ने र माताको दृष्टि परेपछि निको भई आआफ्ना घर फर्कने गरेको अर्का पुजारी रमेश झाको भनाइ छ ।
मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका मकवानपुर, सुनसरी, मोरङ र काठमाडौँदेखि भारतका सीतामढी, मधुवनी र पटना शहरसम्मका हजारौँ पीडित महिला र पुरुष पुग्ने गरेका छन् । “सोनामाई शक्तिपीठमा थुप्रै धामीझाँक्री रातदिन भजनकीर्तन र भूत भगाउने काममा तल्लीन रहन्छन्”, अर्का पुजारी झगरु झाले भने ।
मेलामा आउने पीडित (कारनी)र दर्शनार्थीका लागि रातिको बास र सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको पनि मेला समितिले जनाएको छ