मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। आकासे वर्षा र वैकल्पिक सिचाइँ प्रबन्धबाट प्रदेशभर हालसम्म ९१ दशमलव ५५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।
मधेश प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशको कुल तीन लाख ८२ हजार ४३३ हेक्टर रोपाइँयोग्य क्षेत्रफलमध्ये हालसम्म तीन लाख ५० हजार ११८ दशमलव ८८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ।



निर्देशनालयका बागबानी अधिकृत किरण विश्वकर्माका अनुसार आठ जिल्लामध्ये सिरहामा सबैभन्दा बढी १०० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। जिल्लामा ५४ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकामा सम्पूर्ण क्षेत्रफलमा रोपाइँ सकिएको उहाँले जानकारी दिनुभयो।
सप्तरीमा ६८ हजार हेक्टरमध्ये ६१ हजार २०० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भई ९० प्रतिशत प्रगति भएको छ। धनुषामा ४३ हजार ९०० हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य रहेकामा हालसम्म ३७ हजार ३१५ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ, जुन ८५ प्रतिशत हो।
त्यसैगरी महोत्तरीमा ७४ दशमलव ७७ प्रतिशत, सर्लाहीमा ९४ प्रतिशत, रौतहटमा ९३ प्रतिशत, बारामा ९५ प्रतिशत तथा पर्सामा ९१ प्रतिशत रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ।
अधिकृत विश्वकर्माले बाँकी क्षेत्रमा पनि केही दिनभित्र रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको बताउनुभयो ।





