बर्दिबास । बर्दिबास नगर क्षेत्रमा लामो समयदेखि प्रमुख चुनौतीका रूपमा रहेको अव्यवस्थित बसोबास तथा सुकुम्बासी समस्या समाधानका लागि बर्दिबास नगरपालिकाले पहिलोपटक सेतो पूर्जा र लालपूर्जा वितरणको प्रक्रियालाई समानान्तर रूपमा अघि बढाउने प्रकृया सुरु गरेको छ।
नगरप्रमुख प्रहलाद क्षेत्रीले नगरभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या स्थायी रूपमा समाधान गर्ने उद्देश्यका साथ दुवै प्रक्रिया एकसाथ अगाडि बढाइएको जानकारी दिनुभयो ।



उहाँका अनुसार विशेषगरी कालापानी, गौरीडाँडा, माईस्थान लगायत क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूलाई तत्काल लालपूर्जा दिन सम्भव नभएकाले उहाँहरूको भोगाधिकार सुरक्षित गर्न ‘सेतो पुर्जा’ वितरण गर्ने अवधारणा अघि सारिएको बतायउनुभयो ।
नगरप्रमुख क्षेत्रीले भन्नुभयो, ‘वर्षौंदेखि बसोबास गर्दै आए पनि पूर्जा नहुँदा स्थानीयले असुरक्षा र अन्योलको अवस्था भोग्नुपरेको छ । सेतो पूर्जाले जनताको भोगाधिकारको आधार स्थापित गर्नुका साथै राज्यको उपस्थितिको अनुभूति गराउने भएकोले नगरपालिकाले यो समस्या समाधानका लागि युद्धस्तरमा काम अघि बढाएको छ ।’
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणी अधिकारीका अनुसार सेतो पूर्जा वितरणका लागि स्थानीय तहले आवश्यक कानुन तथा कार्यविधि निर्माण गर्नुपर्नेछ । पूर्जा वितरणपछि कित्ताकाट, खरिद–बिक्री तथा अभिलेख व्यवस्थापन मालपोत कार्यालयको प्रणालीसँग जोडिने भएकाले कानुनी र प्राविधिक प्रक्रिया पूरा गर्न केही समय लाग्ने उहाँले बताउनुभयो ।
अधिकारीले भन्नुभयो ‘हतारमा काम गर्दा भविष्यमा कानुनी विवाद सिर्जना हुन सक्ने भएकाले आवश्यक प्रक्रिया पूरा गरी यथाशीघ्र सेतो पुर्जा वितरण गर्न प्रकृया अघि बढाइएको छ ।’
यससँगै राष्ट्रिय भूमि आयोगको समन्वयमा भूमिहीन सुकुम्बासी र दलित सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने कार्यलाई पनि प्राथमिकताका साथ अघि बढाइएको उहाँले बताउनुभयो ।
नगरपालिकाका अनुसार पहिलो चरणमा वडा नम्बर ४ का भूमिहीन सुकुम्बासी तथा दलित सुकुम्बासीलाई पूर्जा वितरण गरिनेछ । एकदेखि डेढ महिनाभित्र उक्त वडाका लाभग्राहीलाई पूर्जा उपलब्ध गराउने लक्ष्य राखिएको नगरप्रमुख प्रहलाद क्षेत्रीले बताउनुभयो ।
त्यसपछि विवाद कम भएका वडा १, ३, ५, ६ र ७ लगायतका वडामा क्रमशः प्रक्रिया विस्तार गरिने उहाँको भनाइ छ ।
बर्दीबास नगरपालिकामा करिब एक हजार ५०० जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको विवरण दर्ता भएको छ । सीमित जनशक्ति भएपनि सेतो पूर्जासम्बन्धी कानुनी प्रक्रिया र लालपूर्जा वितरणका लागि आवश्यक दर्ता तथा सत्यापनको कामलाई समानान्तर रूपमा सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।
संचारकर्मीहरुको जिज्ञासामा नगरप्रमुख क्षेत्रीले सेतो पुर्जा र लालपुर्जा वितरणको प्रक्रिया प्रभावकारी रूपमा कार्यान्वयन भएमा वर्षौंदेखि समाधानको प्रतीक्षामा रहेका सयौँ परिवारले कानुनी रूपमा आफ्नो बसोबासको सुनिश्चितता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।





