![](https://shirishnews.com/wp-content/uploads/2024/12/WhatsApp-Image-2024-12-05-at-20.36.29.jpeg)
जनकपुरधाम - सीता-राम विवाहपञ्चमी महोत्सवअन्तर्गत पाँचौँ दिन आज (बिहीबार) मटकोर विधि सम्पन्न भएको छ । आज जनकपुरधाम स्थित गंगासागर पोखरीमा मटकोर (माटो खनेर निकाल्ने) विधि सम्पन्न भएको हो ।
मटकोर विधिको क्रममा लगिएको माटोबाट सीता-राम विवाहका लागि मडवा (मण्डप) निर्माण गरिने छ । जानकी मन्दिरको प्राङ्गणबाट बाजागाजा सहित बिहेको वेदी बनाउन गंगासागर पोखरीमा माटो ल्याउन जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासको नेतृत्वमा साधु सन्त सहितको सहभागितामा जानकीको प्रतिकात्मक रुपमा रहेकी बालिका जानकी सहितका टोली पुगेका थिए । सो अवसरमा मैथलानी महिलाहरूले विभिन्न प्रकारका वैवाहिक गीत प्रस्तुत गरेका थिए।
![](https://shirishnews.com/wp-content/uploads/2024/12/WhatsApp-Image-2024-12-05-at-20.36.30-1024x536.jpeg)
पोखरीबाट जानकी मन्दिर भित्र्याइएको माटोले सीता-राम विवाहका लागि वेदी तयार गर्ने चलन छ।जानकी माताको मटकोर विधि हेर्नका लागि हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजन गंगासागरको डिलमा पुगेका थिए। वैवाहिक कार्यक्रममा सहभागी हुन अयोध्याबाट आएका जनतीको समेत जानकी माताको मटकोर कार्यक्रममा सहभागिता रहेको थियो।
मटकोर विधिको भोली पल्ट शुक्रबार मैथिली परम्परा अनुसार दिउँसो स्वयंवर र राति वैवाहिक कार्यक्रम हुने जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले जानकारी दिए ।साता व्यापी कार्यक्रममा जानकीका पिता राजा जनकको भूमिका जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले निर्वाह गरिरहेको छ भने मर्यादा पुरुषोत्तम भगवान् रामका पिता दशरथको भूमिका राम जन्म भूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत राय निर्वाह गरिरहेका छन् ।
![](https://shirishnews.com/wp-content/uploads/2024/12/WhatsApp-Image-2024-12-05-at-20.36.30-1-1024x704.jpeg)
शुक्रबार वैवाहिक कार्यक्रम हुने भएकोले भिडभाड अझै बढ्ने भन्दै स्थानीय प्रशासनले आजैदेखि जनकपुरधामको सुरक्षा व्यवस्था कडा पारिएको धनुषा प्रहरीले जनाएको छ।प्रदेश सरकार द्धारा जन्तीको सम्मानमा दिवा भोज यता मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिहीबार अयोध्याबाट जनकपुरधाम आएका जन्तीको सम्मानमा दिवा भोजको आयोजना गर्नुभएको थियो।मुख्यमन्त्रीको निवासमा आयोजित दिवाभोजमा सहभागी भएका जन्तीलाई मुख्यमन्त्री सिंह सहित उद्योग पर्यटनमन्त्री सकिल मियाँ, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जैयसवाल सहितका मन्त्रीले कम्बल वितरण गर्नुभएको थियो।
सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव र आज मटकोर विधि सम्पन्न भएको छ ।महोत्सवको छैटौँ दिन भोलि (शुक्रवार) स्वयम्वर एवं वैवाहिक कार्यक्रम र अन्तिम दिन शनिवार राम कलेवा विधिसँगै विवाह पञ्चमी महोत्सव सम्पन्न हुनेछ ।