रौतहट । महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिक बिहीबार बिहान पेट्रोल बोकेको ट्याङ्करमा आगलागी हुँदा ट्याङ्कर पूर्ण रूपमा ध्वस्त भएको छ।
बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर मृग बचाउने क्रममा अनियन्त्रित भई सडकको दायाँ किनारमा पल्टिँदा आगलागी भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो।




ट्याङ्कर चालक समिर गुरुङलाई उद्धृत गर्दै उहाँले ट्याङ्कर पल्टिएपछि अचानक आगलागी भएको बताउनुभयो।
उहाँका अनुसार चन्द्रपुर नगरपालिका र बाराको निजगढ नगरपालिकाबाट पुगेका दमकलको सहयोगमा बिहान करिब ६ः५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा क्षति भएको भए पनि मानवीय क्षति भने भएको छैन। राजमार्गसमेत सुचारु रहेको प्रहरीले जनाएको छ।

बाराको सिमरा उपमहानगरपालिका–११ का करिब २५ वर्षीय ट्याङ्कर चालक गुरुङलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिनुभयो।
घटना चन्द्रपुर नगरपालिकादेखि करिब १३ किलोमिटर पश्चिमतर्फको जङ्गल क्षेत्रमा भएको प्रहरीले जनाएको छ।






