विजयकुमार साह
ढल्केबर । धनुषामा पछिल्लो दुई दशकको अवधिमा वनक्षेत्र ११.१७ प्रतिशतले वृद्धि भएको छ । वन कार्यालय, निजी क्षेत्र तथा विभिन्न सङ्घ संस्थाले वृक्षरोपण तथा हरियाली प्रवर्धनका कार्यव्रmम सञ्चालन गरेपछि वनक्षेत्र विस्तार भएको हो ।



डिभिजन वन कार्यालय धनुषाको तथ्याङ्क अनुसार दुई दशकको अवधिमा तीन हजार ८० हेक्टर वनक्षेत्र विस्तार भएको छ । सन् २००० मा २७ हजार ५७८ हेक्टर वनक्षेत्र थियो भने सन् २०२३ मा बढेर ३० हजार ६५८ हेक्टर पुगेको छ ।
डिभिजन वन कार्यालय धनुषाका डिभिजनल प्रमुख विनोद सिंहले वनक्षेत्र वृद्धि हुनुमा निजी क्षेत्रको महìवपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले राष्ट्रिय वनक्षेत्रको दायरा यथावत् रहेको बताउँदै निजी वनक्षेत्रमा वृद्धि भएकाले समग्रमा वनक्षेत्र बढेको बताउनुभयो । उहाँका अनुसार पछिल्ला वर्ष निजी जमिनमा उल्लेखनीय वृक्षरोपण भएको छ । वन कार्यालय, समृद्धि वन परियोजनालगायत विभिन्न विकास साझेदार सङ्घ संस्था तथा नागरिक स्वयम् सव्रिmय भएर वृक्षरोपण गरेकाले हरियाली क्षेत्र बढेको उहाँको भनाइ छ । डिभिजनल प्रमुख सिंहले निजी जग्गामा आँपलगायतका विभिन्न फलफूल तथा काठजन्य बिरुवा अत्यधिक रोपिएको बताउनुभयो । वन संरक्षण र हरियाली प्रवर्धनप्रति नागरिकको चेतना बढ्दै जाँदा निजी वनको अवधारणा पनि विस्तार हुँदै गएको उहाँले जानकारी दिनुभयो ।
वन अधिकृत तथा प्राविधिक अनिल साहका अनुसार एकै ठाउँमा आधा हेक्टर जमिनमा रुखबिरुवा भएको स्थानलाई वनक्षेत्रमा गणना गर्ने प्रावधान रहेको बताउनुभयो । यही मापदण्डका आधारमा निजी जग्गामा रोपिएको वृक्षलाई पनि वनक्षेत्रका रूपमा गणना गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो दुई दशकमा निजी जमिनमा आँपलगायत विभिन्न फलफूलका बोट, सिसौ, सपेता जस्ता काठजन्य प्रजातिका रुख उल्लेखनीय रूपमा बढेका छन् । किसानले व्यावसायिक खेतीसँगै वृक्षरोपणलाई आम्दानीको स्रोतका रूपमा लिन थालेपछि निजी वन विस्तार भएको उहाँले बताउनुभयो ।
उहाँले हरियाली प्रवर्धनका लागि गत आर्थिक वर्षमा मात्र निजी क्षेत्र तथा विभिन्न सङ्घ संस्थालाई गरी एक लाख ५० हजार बिरुवा वितरण गरिएको जानकारी दिनुभयो । नदी उकास, खाली सार्वजनिक जग्गा तथा अन्य उपयुक्त स्थानमा गरी ६० हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको उहाँको भनाइ छ ।
उहाँका अनुसार वनक्षेत्र विस्तारसँगै वातावरणीय सन्तुलन कायम राख्न, जैविक विविधताको संरक्षण गर्न, जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न तथा भूक्षय नियन्त्रणमा समेत योगदान पुगेको छ । हरियाली विस्तारले स्थानीयस्तरमा तापक्रम नियन्त्रण, भूजल पुनर्भरण तथा वन्यजन्तुको वासस्थान संरक्षणमा समेत सहयोग पुगेको वन अधिकृत साहको भनाइ छ ।





