रौतहट - रौतट प्रहरीले हतियार सहित एकजनालाई पक्राउ गरेको छ। जिल्लाको देवाही गोनाही नगरपालिकामा जारी दुर्गा मेला स्थलबाट एक व्यक्तिलाई अवैध हतियारसहित प्रहरीले पक्राउ गरेको हो।
शुक्रबार राति १० बजे इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको गस्ती टोलीले वडा नं ६, कर्कचमा शंकास्पद गतिविधि देखिएपछि सोही स्थानका ५६ वर्षीय भोला राय यादवलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले यादवको साथबाट अमेरिकामा निर्मित ‘अटोमेटिक पिस्टल’ लेखिएको एक थान पेस्तोल, सोही पिस्टलको एक थान म्यागजिन, ९ एमएमको ४ राउण्ड गोली, साथै सर्टगनको २ राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
शुक्रबार राति नै पक्राउ परेका यादवलाई रौतहट प्रहरीले आइतबार प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको हो।
अवैध हतियार राखेको अभियोगमा यादवविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले अवैध हतियार राख्नेलाई कडा कारबाही गर्ने चेतावनी दिँदै, यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाउने बताएको छ।