महोत्तरी – महोत्तरीको औरही नगरपालिकामा धानबालीमा स्टेम बोरर (Stem Borer) किराको प्रकोप देखिन थालेपछि किसान चिन्तित बनेका छन्।
धानको पात पहेँलिने, बोट सुक्दै जाने तथा बोटको वृद्धि प्रभावित हुने समस्या देखिएपछि किसानले रोग नियन्त्रणका लागि विषादी पसलको सहारा लिए पनि एउटै प्रकृतिको समस्यामा फरक–फरक विषादी सिफारिस गरिँदा उनीहरू अन्योलमा परेका हुन्।



औरही नगरपालिका–२ का किसान दिनेश यादव र वडा नं. १ का किसान श्रवण कुमार यादवलगायतले रोग नियन्त्रणका लागि भरपर्दो र एकरूप प्राविधिक परामर्श नपाएको गुनासो गरेका छन्। उनीहरूका अनुसार नगरपालिकाभित्र सञ्चालित अधिकांश विषादी पसलले एउटै लक्षण देखिएको धानबालीका लागि फरक–फरक विषादी सिफारिस गर्ने गरेका छन्। सिफारिस गरिएका विषादी प्रयोग गर्दा पनि अपेक्षित रूपमा रोग नियन्त्रण हुन नसकेको उनीहरूको भनाइ छ।

धानबालीमा देखिएको समस्याबारे किसानले औरही नगरपालिकाको कृषि शाखामा जानकारी गराएपछि कृषि शाखाका प्रमुख सुनिल कुमार यादव र शाखाका ना.प्रा.स. कविता बिष्टको समन्वयमा प्राविधिक कर्मचारी सतेन्द्र कुमार ठाकुर र नवीन यादव प्रभावित खेतमा पुगेर निरीक्षण गरेका थिए। निरीक्षण तथा नमुना परीक्षणपछि धानबालीमा स्टेम बोरर किराको प्रकोप रहेको प्रारम्भिक निष्कर्ष निकालिएको कृषि शाखाले जनाएको छ। त्यसपछि किसानलाई सिफारिस गरिएको विषादी, प्रयोग गर्ने उचित समय, मात्रा तथा विधिबारे आवश्यक प्राविधिक परामर्श प्रदान गरिएको थियो।

कृषि शाखाका प्रमुख सुनिल कुमार यादवले स्टेम बोरर धानबालीमा क्षति पुर्याउने प्रमुख किरामध्ये एक भएको बताउनुभयो। उहाँका अनुसार यस किराले धानको तना (गुभो) भित्र प्रवेश गरी भित्री भागमा क्षति पुर्याउने भएकाले बीचको पात सुक्ने (डेड हार्ट) तथा बाला लाग्ने समयमा बाला सेतो हुने (ह्वाइट हेड) समस्या देखिन सक्छ। समयमै पहिचान गरी प्राविधिकको सल्लाहअनुसार विषादी प्रयोग गरेमा क्षति न्यूनीकरण गर्न सकिने उहाँको भनाइ छ। उहाँले हालसम्म अधिकांश किसानले धानबालीमा देखिएको समस्याबारे औपचारिक रूपमा कृषि शाखामा जानकारी नदिएको उल्लेख गर्दै बालीमा कुनै असामान्य लक्षण देखिएमा तत्काल कृषि शाखामा सम्पर्क गर्न आग्रह गर्नुभयो।

कृषि शाखाले सञ्चालन गर्ने तालिम तथा कृषि कार्यक्रमप्रति किसानको सहभागिता पनि अपेक्षाकृत न्यून रहेको उहाँले बताउनुभयो। शाखाका ना.प्रा.स. कविता बिष्टले किसानको समस्या समाधान कृषि शाखाको प्राथमिकतामा रहेको बताउँदै अनुमानका आधारमा विषादी प्रयोग नगरी प्राविधिकसँग परामर्श लिएर मात्र विषादी प्रयोग गर्न आग्रह गर्नुभयो। आवश्यक समन्वय, प्राविधिक सेवा तथा परामर्श उपलब्ध गराउन कृषि शाखा सधैँ तत्पर रहेको उहाँले बताउनुभयो।
प्राविधिक कर्मचारी सतेन्द्र कुमार ठाकुरले निरीक्षणका क्रममा धानबालीमा स्टेम बोररको प्रकोप देखिएको जानकारी दिँदै सिफारिस गरिएको विषादी समयमै प्रयोग गर्न सुझाव दिनुभयो। अर्का प्राविधिक नवीन यादवले बालीको नियमित अनुगमन गरी प्रारम्भिक अवस्थामै किराको व्यवस्थापन गर्न सके उत्पादनमा हुने क्षति कम गर्न सकिने बताउनुभयो।

किसान दिनेश यादवले धानबालीमा रोगसँगै सिँचाइको समस्या पनि उत्तिकै गम्भीर रहेको बताउनुभयो।“यस वर्ष समयमा पर्याप्त वर्षा नभएकाले धेरै किसानले मोटरबाट सिँचाइ गर्नुपरेको छ। पानीको अभावले बाली कमजोर भएको छ र किराको असर पनि बढेको छ,”उहाँले भन्नुभयो। किसान श्रवण कुमार यादवले एउटै समस्याका लागि फरक–फरक विषादी सिफारिस हुँदा कुन औषधि प्रयोग गर्ने भन्ने अन्योल रहेको बताउनुभयो।
औरही नगरपालिकाका नगर प्रमुख प्रदीप कुमार खड्काले किसानको उत्पादन र आयसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले धानबालीमा देखिएको समस्या समाधानका लागि कृषि शाखालाई थप सक्रिय र प्रभावकारी रूपमा परिचालन गरिएको बताउनुभयो। उहाँले किसानले समस्या देखिनेबित्तिकै कृषि शाखामा जानकारी गराई प्राविधिकको सल्लाहअनुसार मात्र विषादी प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो।

कृषि क्षेत्रका जानकारका अनुसार स्टेम बोरर धानबालीमा आर्थिक रूपमा बढी क्षति पुर्याउने किरामध्ये एक हो। यसको नियन्त्रणका लागि खेतको नियमित अनुगमन, सन्तुलित मल व्यवस्थापन, आवश्यकता अनुसार सिफारिस गरिएको विषादीको प्रयोग तथा एकीकृत किराको व्यवस्थापन (आईपीएम) विधि अपनाउनु प्रभावकारी मानिन्छ। स्थानीय किसानले भने रोगको वैज्ञानिक पहिचान, विषादीको एकरूप सिफारिस, विषादी पसलको नियमित अनुगमन तथा कृषि प्राविधिकको पहुँच थप प्रभावकारी बनाउन स्थानीय सरकारसँग माग गरेका छन्।






