जनकपुरधाम । महिलामाथि हुने हिंसा, विभेद तथा मानवअधिकार उल्लंघन अन्त्यको माग गर्दै मधेस प्रदेशको राजधानी जनकपुरधाममा कोणसभा आयोजना गरिएको छ।
अनुपम अभियान अन्तरपुस्ता महिलावादी मञ्चको आयोजनामा जनकपुरधामस्थित रेल्वे स्टेसनमा शनिबार दिउँसो ३ बजे कोणसभा आयोजना गरिएको हो। कार्यक्रममा महिला अधिकार, सामाजिक न्याय, मानवअधिकार तथा लैङ्गिक समानताको क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्था, जनप्रतिनिधि, अधिकारकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सञ्चारकर्मीसहित ७४ जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा शहीदनगर नगरपालिकाकी उपप्रमुख सुनिता सिंह, हंसपुर नगरपालिकाकी निवर्तमान उपप्रमुख रेणु झा, जनकपुरधाम उपमहानगरपालिकाका कार्यपालिका सदस्य शारदा पन्त, वडा सदस्य गीता देवी यादव, नेपाली कांग्रेसकी महिला नेतृ सम्झना बर्मालगायतको उपस्थिति रहेको थियो।
त्यस्तै, एम्नेष्टी इन्टरनेसनल नेपाल समूह ५७ का संयोजक मनिष झा, समूह ४६ की संयोजक इन्दिरा चौधरी, शान्ति पुनर्स्थापना गृहकी रीना चौधरी, आफन्त नेपालकी अमृता घिमिरे, उज्यालो समाजका अध्यक्ष अमित मिश्र, नीलहिरा समाजका प्रदीप यादव, ग्रिन स्पेसका धिरज साह, दलित महिला संघ (फेडो) की किरण दास, मुक्ति नेपालका विनोद महरा, पिपुल प्रमोट सेन्टरका कमलेश मण्डल, जानकी महिला जागरण समाजकी अध्यक्ष मन्दाकिनी कर्णलगायत सहभागी थिए।
कार्यक्रममा WHR का सिकिलिया देवी, ओरेकका प्रतिनिधि, थर्ड एलायन्सका अर्जुन साह, प्रेरणा महिला समूहका प्रतिनिधि, महिला अधिकारकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सञ्चारकर्मीहरूको पनि सहभागिता रहेको थियो।
कोणसभामा महिला तथा बालिकामाथि हुने हिंसा, लैङ्गिक विभेद, सामाजिक असमानता र अधिकारबाट वञ्चितीकरणका विषयमा आवाज उठाउँदै महिलाको सम्मान, सुरक्षा, समान अधिकार र न्याय सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको थियो।
कार्यक्रममा WHRD का अध्यक्ष उर्मिला यादव, हंसपुर नगरपालिकाकी निवर्तमान उपप्रमुख रेणु झा, जानकी महिला जागरण समाजकी अध्यक्ष मन्दाकिनी कर्ण, पिपुल प्रमोट सेन्टरका कमलेश मण्डल तथा मित्र धनुषाकी मञ्जु ठाकुरलगायतले महिला अधिकार र सामाजिक न्यायका सवालमा धारणा राखेका थिए।
वक्ताहरूले महिलामाथि हुने हिंसा अन्त्यका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नभई राज्यका निकाय, राजनीतिक दल, नागरिक समाज र समुदायस्तरबाट प्रभावकारी पहल आवश्यक रहेको बताएका थिए। उनीहरूले महिलाको नेतृत्व र सहभागिता बढाउँदै सुरक्षित तथा विभेदरहित समाज निर्माणका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।
कार्यक्रमले महिला अधिकार र लैङ्गिक न्यायका सवालमा अन्तरपुस्ता संवाद, सहकार्य र सामूहिक अभियानलाई थप बल पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।








