ढल्केबर । धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर तोकिएकै स्थानमा निर्माण गर्नुपर्ने माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
ट्रमा सेन्टर संरक्षण सङ्घर्ष समितिको आह्वानमा जारी आन्दोलनको पाँचौँ दिन सोमवार स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागितामा आधा घण्टा राजमार्ग अवरुद्ध गरिएको हो ।



आन्दोलनकारीले बिहान ११ बजेदेखि ११ः३० बजेसम्म पूर्व–पश्चिम राजमार्गमा यातायात आवागमन ठप्प पार्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । राजमार्ग अवरुद्ध भएपछि केही समय सवारीसाधनको आवागमन प्रभावित भएको थियो ।

प्रस्तावित ट्रमा सेन्टर ढल्केबरबाट अन्यत्र सार्न खोजिएको भन्दै सङ्घर्ष समितिले गत विहिबारदेखि चरणबद्ध आन्दोलन घोषणा गरेको हो । आन्दोलनअन्तर्गत राजमार्ग अवरुद्ध गर्ने, विरोध प्रदर्शन गर्ने तथा सरकारको ध्यानाकर्षण गराउने कार्यक्रम सञ्चालन भइरहेको समितिले जनाएको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले ट्रमा सेन्टर लहानमा निर्माण हुने जानकारी गराएपछि ढल्केबरमा विरोध चर्किएको हो । स्थानीयवासीले सरकारले यसअघि ढल्केबरमा निर्माण गर्ने गरी अघि बढाएको योजना अन्यत्र सार्न खोजेको भन्दै निर्णय सच्याउन माग गरेका छन् ।

सङ्घर्ष समितिका संयोजक तथा मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोले प्रस्तावित स्थानमै ट्रमा सेन्टर निर्माण नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

उहाँका अनुसार आन्दोलनअन्तर्गत सोमबार बिहान ११ बजेदेखि १२ बजेसम्म तथा २७ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गर्ने कार्यक्रम तय गरिएको छ ।
ढल्केबरमा ट्रमा सेन्टर निर्माणका लागि सङ्घीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा पहिलो पटक रकम विनियोजन गरेको थियो । मिथिला नगरपालिका–७, साविक ढल्केबर गाविस–२ ‘क’ स्थित कित्ता नं. १६९ को करिब चार बिघा ऐलानी जग्गालाई आधार बनाएर ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढाइएको थियो ।

नगरप्रमुख महतोका अनुसार ट्रमा सेन्टर निर्माणका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया पूरा भइसकेको छ र जग्गाको लालपुर्जासमेत बनिसकेको छ । लामो समयदेखि अघि बढाइएको योजना शिलान्यासको चरणमा पुगिसकेको अवस्थामा निर्माणस्थल परिवर्तन गर्ने कुरा आएको भन्दै स्थानीयवासी असन्तुष्ट बनेका हुन् ।
स्थानीयवासीले ढल्केबर पूर्व–पश्चिम राजमार्गको महत्वपूर्ण यातायात केन्द्र हुनुका साथै यहाँ दैनिक ठूलो सङ्ख्यामा सवारीसाधन आवागमन हुने भएकाले दुर्घटनामा घाइते हुनेलाई तत्काल उपचार उपलब्ध गराउन ट्रमा सेन्टर आवश्यक रहेको बताएका छन् ।

उनीहरूले ढल्केबरमा ट्रमा सेन्टर निर्माण भए धनुषासहित महोत्तरी, सिरहा, सर्लाहीलगायत आसपासका जिल्लाका दुर्घटनाका घाइतेलाई समेत तत्काल उपचार सेवा उपलब्ध गराउन सहज हुने दाबी गरेका छन् ।

सङ्घर्ष समितिले सरकारले यसअघि बजेट विनियोजन गरी जग्गा प्राप्तिसमेत गरिसकेको अवस्थामा योजनालाई अन्यत्र सार्नु उचित नहुने जनाएको छ । स्थानीयवासीले निर्णय पुनरावलोकन गरी ढल्केबरमै ट्रमा सेन्टर निर्माणको काम तत्काल अघि बढाउन सरकारसँग माग गरेका छन् ।

सरकारले भने ट्रमा सेन्टर निर्माणका लागि लहानलाई प्रस्तावित स्थानका रूपमा अघि सारेपछि ढल्केबरमा आन्दोलन चर्किएको हो । निर्माणस्थलका विषयमा स्थानीयस्तरमा देखिएको विवाद समाधानका लागि सरकारले स्पष्ट निर्णय गर्नुपर्ने माग स्थानीयवासीले गरेका छन् ।





