सुजाता राई
विराटनगर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तथा १७औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई लक्षित गर्दै कोशी प्रदेशमा खेलाडी उत्पादन र खेलकुद विकासलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।



प्रादेशिक रङ्गशाला, इटहरीमा मंगलबार कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष वसन्तराज अर्याल, सदस्य–सचिव विप्लव घोषसहित १४ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष तथा कार्यालय प्रमुखको उपस्थितिमा छलफल कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको सहभागिता, १७औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी, जिल्लामा रहेका खेल पूर्वाधार, समस्या तथा चुनौतीलगायत विषयमा छलफल गरिएको थियो।
सदस्य–सचिव घोषले प्रदेशका प्रत्येक जिल्लाबाट सम्भावनायुक्त खेलाडी उत्पादन गरी उनीहरूलाई नियमित प्रशिक्षण र प्रतियोगितामार्फत खेल क्षेत्रमा अग्रसर गराउनुपर्नेमा जोड दिए। खेलाडीको क्षमता विकाससँगै जिल्लास्तरदेखि नै खेलकुदलाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने उनको भनाइ थियो।

घोष सदस्य–सचिवका रूपमा आएपछि प्रदेशको खेलकुद गतिविधिलाई थप चलायमान बनाउँदै खेलाडीको उन्नति र प्रगतिका लागि जिल्ला तहसम्म समन्वय तथा छलफललाई प्राथमिकता दिइएको बोर्डले जनाएको छ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै प्रत्येक जिल्लामा रहेका प्रतिभावान खेलाडी पहिचान गरी उनीहरूलाई अवसर प्रदान गर्ने, खेलकुद गतिविधि विस्तार गर्ने तथा उपलब्ध खेल पूर्वाधारको प्रभावकारी उपयोग गर्ने विषयमा समेत छलफल भएको थियो।
प्रदेशको खेलकुद क्षेत्रलाई व्यवस्थित र परिणाममुखी बनाउन जिल्ला तहका पदाधिकारी तथा कार्यालय प्रमुखसँग नियमित समन्वय आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए।





