जीवनराज दाहाल
बर्दिबास । करिब दुई दशकअघि गाइएको एउटा पुरानो भाकालाई नयाँ स्वरूप दिँदै गायक तथा सङ्गीतकार बेलबहादुर परियारले ‘तिमीलाई मैले सानू सकिन बिर्सन’ गीत बजारमा ल्याएका छन् । बर्दिबासस्थित विनायक होटलमा बिहीबार आयोजित कार्यक्रममा गीत तथा यसको भिडियो सार्वजनिक गरिएको हो ।



राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य कृष्ण गौतमको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रतिष्ठानका मधेस प्रदेश अध्यक्ष रुद्रसेन विश्वकर्मा, बर्दिबास उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुरेन्द्र लामा, प्रगतिशील लेखक संघ मधेस प्रदेशका अध्यक्ष नारायण घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजकरण महतो, समाजसेवी सन्त परियारलगायतको उपस्थिति थियो ।
विमोचन कार्यक्रममा प्रोजेक्टरमार्फत गीतको भिडियो प्रदर्शनसमेत गरिएको थियो । गीतमा परियारको स्वर तथा सङ्गीत र रचना रिमालको स्वर रहेको छ । नारायण दङ्गालको एरेन्ज तथा गोपाल दयालको रेकर्डिङ रहेको गीतको भिडियोमा सुजाता भट्टराई, अशोक लाखे, राजाराम श्रेष्ठ र सरु भुजेलले अभिनय गरेका छन् । शैलेस श्रेष्ठको छायाङ्कन रहेको भिडियोको निर्देशन तथा कोरियोग्राफी ए ए स्टार मिडियाले गरेको हो ।
गीत सार्वजनिक गर्दै परियारले आफूले करिब २० वर्षअघि गाएको भाकालाई समयअनुसार पुनः सङ्गीत संयोजन गरी नयाँ पुस्तामाझ पुर्याउने प्रयास गरेको बताए । २०४७/४८ सालदेखि नै गीत–सङ्गीतमा सक्रिय रहे पनि निरन्तरता दिन नसकेको उल्लेख गर्दै उनले ढल्किँदो उमेरमा पुरानो रहर पूरा गर्ने उद्देश्यले गीत ल्याएको बताए ।

कार्यक्रममा प्रलेस मधेस प्रदेशका अध्यक्ष नारायण घिमिरेले आर्थिक प्रतिफलको सुनिश्चितता नरहेको अवस्थामा पनि सिर्जनालाई निरन्तरता दिनु आफैंमा प्रशंसनीय रहेको बताए । बर्दिबास उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुरेन्द्र लामाले लोप हुँदै गएका लोकभाका र संस्कृतिको संरक्षणमा परियारको प्रयास महत्वपूर्ण रहेको धारणा राखे ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजकरण महतोले परियारका सिर्जनामा आम जनताको जीवन, दुःख–सुख र भोगाइ झल्किने गरेको बताए । उनलाई ‘जनताको गायक’का रूपमा उल्लेख गर्दै महतोले लोकजीवनसँग जोडिएका गीतले छुट्टै महत्व राख्ने बताए । प्रमुख अतिथि कृष्ण गौतमले लोक तथा दोहोरी क्षेत्रमा लामो समयदेखि सक्रिय सर्जकले आफ्नो पुरानो सिर्जनालाई नयाँ स्वरूपमा प्रस्तुत गर्नु सकारात्मक भएको बताए । प्रतिष्ठानका मधेस प्रदेश अध्यक्ष रुद्रसेन विश्वकर्माले गीतको सफलताको शुभकामना दिए ।
परियारले यसअघि ‘जाग नेपाली वीर नेपाली (स्वदेश गान)’, ‘सिन्धुलीका सुसेलीहरू’, ‘राखौं है पियारी मीठो सम्झना’, ‘गरौं है रमाइलो (देउसी–भैलो)’, ‘सुनको थैली चाँदीको झुम्काना’ र ‘फूल खसिगो माया बसिगो’ लगायतका गीत सार्वजनिक गरिसकेका छन् ।
‘तिमीलाई मैले सानू सकिन बिर्सन’ गीत तथा भिडियो परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीका सचिव रमेश खत्री पौडेलले सञ्चालन गरेका थिए ।





