महोत्तरी – गौशाला नगरपालिकामा बडादशैंको अवसरमा आयोजना हुने दुर्गा पूजा तथा मेलालाई व्यवस्थित गर्न व्यवस्थापन समिति गठन गरिएको छ।
गौशाला नगरपालिका–५ स्थित गौशाला बजारको ऐतिहासिक दुर्गा मन्दिरमा हरेक वर्षझैं यस वर्ष पनि बडादशैंको अवसरमा भव्य दुर्गा पूजा तथा मेला आयोजना गरिने भएको हो। पूजा तथा मेला कार्यक्रमलाई व्यवस्थित, मर्यादित र सफल बनाउन शुक्रबार साउन २९ गते मन्दिर प्राङ्गणमा आयोजित भेलाले ‘दुर्गा पूजा समिति–२०८३’ गठन गरेको हो।



वडा नं. ५ का वडाध्यक्ष ओमप्रकाश गुप्ताको अध्यक्षतामा सम्पन्न भेलाले धिरजकुमार साहको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो। नवगठित समितिको उपाध्यक्षमा अभिषेककुमार गुप्ता र सुनिलकुमार साह, सचिवमा हेमन्तकुमार सिंह, महासचिवमा शुभमप्रसाद साह तथा कोषाध्यक्षमा धर्मेन्द्र कुशवाहा (भिलेन्द्र) चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा सुरजकुमार गुप्ता, शिवजी साह, प्रशान्त कुशवाहा, धिरज शाह सोनार र अमनकुमार साह रहेका छन्।
भेलाले पूजा तथा मेला कार्यक्रमलाई मर्यादित, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्ने निर्णय गर्दै सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने जनाएको छ। मेला अवधिमा श्रद्धालु तथा भक्तजनको सहज आवागमन, सुरक्षा, सरसफाइ तथा भीड व्यवस्थापनलाई समेत प्राथमिकतामा राखिने समितिले जनाएको छ।

वडाध्यक्ष ओमप्रकाश गुप्ताले बडादशैंको अवसरमा आयोजना हुने दुर्गा पूजा तथा मेलालाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको दुर्गा पूजा र मेलाले स्थानीय धार्मिक परम्परा, संस्कृति तथा सामाजिक सद्भावलाई थप मजबुत बनाउने भएकाले यसको सफल आयोजनाका लागि वडा कार्यालयले आवश्यक सहजीकरण गर्ने उहाँले बताउनुभयो।
यसैगरी, नवगठित दुर्गा पूजा समिति–२०८३ का अध्यक्ष धिरजकुमार साहले यस वर्षको दुर्गा पूजा तथा मेलालाई विगतका वर्षभन्दा थप व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पूजा तथा मेला स्थानीयको धार्मिक आस्था, परम्परा र संस्कृतिसँग जोडिएकाले श्रद्धालु तथा भक्तजनलाई सहज रूपमा पूजा–आराधना गर्ने वातावरण सिर्जना गर्नु समितिको प्रमुख प्राथमिकता रहेको बताउनुभयो।
अध्यक्ष साहले मेला अवधिमा सुरक्षा, सरसफाइ, भीड व्यवस्थापन तथा श्रद्धालुको सुविधालाई विशेष ध्यान दिइने उल्लेख गर्दै कार्यक्रमलाई शान्तिपूर्ण र सभ्य रूपमा सम्पन्न गर्न स्थानीयवासी, व्यापारी, युवा तथा सम्बन्धित सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो। समितिले जिम्मेवारीपूर्वक काम गर्दै स्थानीय धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा समेत योगदान पुर्याउने उहाँको भनाइ छ।

यसै अवसरमा पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ। सल्लाहकार समितिमा वडाध्यक्ष ओमप्रकाश गुप्ता, मनोजकुमार साह, अर्जुन मण्डल, अमितकुमार साह र पूर्वअध्यक्ष उपेन्द्र साह रहेका छन्।
स्थानीय धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको गौशालाको दुर्गा मन्दिरमा बडादशैंको समयमा प्रत्येक वर्ष ठूलो संख्यामा श्रद्धालु तथा भक्तजनको आगमन हुने गरेको छ। दशैंको अवसरमा मन्दिर परिसरमा भव्य मेला लाग्ने परम्परा रहेकाले यस वर्ष पनि पूजा तथा मेलालाई थप व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने तयारी थालिएको समितिले जनाएको छ।






