धनुषा । मधेस प्रदेशमा सीमापार पर्यटन (क्रस–बोर्डर टुरिजम) प्रवर्द्धनका लागि नेपाल र भारतबीच आवश्यक समन्वय र सहकार्य बढाउनुपर्नेमा जोड दिइएको छ।
आइतबार धनुषाको लालगढमा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशको आयोजनामा भएको विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रममा मधेसको पर्यटन क्षेत्रको वर्तमान अवस्था, सम्भावना, चुनौती तथा विकासका लागि आवश्यक नीति र योजनाबारे भएको छलफलमा सो कुरालाई जोड दिंदै मधेस प्रदेशका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यलाई एउटै सञ्जालमा जोडेर पर्यटन प्रवर्द्धन गर्न ‘मधेस पर्यटन सर्किट’ निर्माणको अवधारणा अघि सारिएको छ।




महासंघ, मधेस प्रदेशले प्रदेशका आठवटै जिल्लामा रहेका प्रमुख पर्यटकीय गन्तव्यलाई एकीकृत रूपमा विकास र प्रवर्द्धन गर्ने गरी पर्यटन सर्किटलाई राष्ट्रिय पर्यटन नीति तथा कार्यक्रममा समेट्न संघीय सरकारसँग आग्रह गरेको हो।
महासंघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसमक्ष ध्यानाकर्षणपत्र बुझाउँदै मधेसको पर्यटन विकासलाई राष्ट्रिय पर्यटन नीति र योजनामा प्राथमिकता दिन माग गरेको हो।
महासंघका अध्यक्ष हिरालाल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा मधेसमा पर्याप्त प्रचारप्रसार, पर्यटन पूर्वाधार तथा प्रभावकारी नीतिको अभावमा ठूलो पर्यटन सम्भावना हुँदाहुँदै पनि प्रदेशले अपेक्षित लाभ लिन नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराइएको थियो।
अध्यक्ष गौतमले मधेसका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक गन्तव्यलाई जोडेर एकीकृत पर्यटन प्रवर्द्धनको नीति बनाउन आवश्यक रहेको बताउनुभयो। ‘मधेस पर्यटन सर्किट’लाई राष्ट्रिय पर्यटन नीति तथा कार्यक्रममा समावेश गरी नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नुपर्ने उहाँको भनाइ थियो।
महासंघले मधेस पर्यटन बोर्ड गठन, पर्यटकमैत्री नीति तथा कानुन निर्माण, पर्यटकीय गन्तव्यको सौन्दर्यीकरण र आवश्यक पूर्वाधार विकासलाई प्राथमिकता दिन पनि सरकारसँग माग गरेको छ। होटल तथा पर्यटन व्यवसायलाई उद्योगको मान्यता प्रदान गर्न, पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि तालिम सञ्चालन गर्न, पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि भिडियो सामग्री निर्माण गर्न तथा पर्यटन व्यवसायसम्बन्धी तथ्याङ्क व्यवस्थित गर्नुपर्ने मागसमेत महासंघले अघि सारेको छ।
होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका महासचिव नारायण घिमिरेले भारतबाट आउने पर्यटकलाई लक्षित गरी सीमा नाकामा आवश्यक सहजीकरण र क्रस–बोर्डर टुरिजम प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो। निजी क्षेत्रसँगको सहकार्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पर्यटन महोत्सव आयोजना गर्ने वातावरण निर्माण गर्नसमेत सरकारसँग आग्रह गरिएको उहाँले जानकारी दिनुभयो।
महासंघले मधेसका प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेका जनकपुरधामको जानकी मन्दिर, बाराको गढीमाई मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती, महोत्तरीको जलेश्वरनाथ, धनुषाधाम, बारा–पर्साको सिम्रौनगढ, सिरहाको सलहेस फूलबारी, पर्सा राष्ट्रिय निकुञ्ज, ठोरी, भरत ताल तथा महोत्तरीको टुटेश्वरनाथ महादेव मन्दिरलगायत स्थलको योजनाबद्ध विकास र प्रवर्द्धन गर्नुपर्ने जनाएको छ।

पर्यटकीय गन्तव्यसम्म सहज पहुँचका लागि सडक तथा अन्य पूर्वाधार विकास, आवश्यक जनशक्ति व्यवस्थापन र पर्यटन क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिलाई पनि महासंघले प्राथमिकतामा राखेको छ।
अध्यक्ष गौतमले होटल तथा पर्यटन व्यवसायी सरकारसँग माग राख्ने मात्र नभई प्रदेशको पर्यटन विकासका लागि आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो। मधेसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो।
महासंघले ‘घुमौँ मधेस, बुझौँ मधेस’ अभियानलाई थप प्रभावकारी बनाउँदै मधेसका पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने प्रतिबद्धतासमेत जनाएको छ।
कार्यक्रममा मन्त्री पौडेलले मधेसको पर्यटन विकासका लागि महासंघले अघि सारेका प्रस्तावप्रति सकारात्मक धारणा व्यक्त गर्दै पर्यटन प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच आवश्यक सहकार्य तथा समन्वयमा जोड दिनुभयो।




