महोत्तरी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गणेश’ले महोत्तरीको बर्दिबास नगरपालिका–५ टुटेश्वरस्थित प्रसिद्ध टुटेश्वरनाथ महादेव मन्दिरको धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्वको संरक्षण र प्रवर्द्धनमा सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

साउन महिनामा नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु आउने टुटेश्वरनाथ मन्दिरमा आइतबार विशेष पूजा–अर्चना गरी दर्शन गरेपछि मन्त्री पौडेलले मन्दिरको समग्र विकास र संरक्षणमा आवश्यक सहयोग गर्ने बताउनुभएको हो।




‘मधेसको कैलास’ तथा ‘नेपालको बाबाधाम’का रूपमा समेत परिचित टुटेश्वरनाथको धार्मिक महत्वसँगै ऐतिहासिक तथा पुरातात्त्विक पक्षलाई समेत संरक्षण गरी राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नुपर्नेमा मन्त्री पौडेलले जोड दिनुभयो।

पूजा–अर्चनापछि टुटेश्वरनाथ मन्दिर संरक्षण समितिले मन्त्री पौडेललाई मन्दिर तथा आसपासको क्षेत्रको धार्मिक, ऐतिहासिक र पुरातात्त्विक महत्वबारे जानकारी गराएको थियो। समितिका अध्यक्ष राजाराम यादवले मन्दिरलाई राष्ट्रिय सम्पदाका रूपमा स्थापित गर्न पहल गर्न माग गर्दै मन्त्री पौडेललाई ध्यानाकर्षणपत्र बुझाउनुभयो।

अध्यक्ष यादवले टुटेश्वर क्षेत्रलाई धार्मिक आस्थाको केन्द्रका रूपमा मात्र नभई प्रागैतिहासिक तथा पुरातात्त्विक अध्ययन–अनुसन्धानको महत्वपूर्ण क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। उहाँले क्षेत्रको संरक्षण र योजनाबद्ध विकासका लागि संघीय सरकारको विशेष ध्यान आवश्यक रहेको उल्लेख गर्नुभयो।

साउन महिनामा टुटेश्वरनाथमा ठूलो सङ्ख्यामा श्रद्धालु आउने गरेको समितिले जनाएको छ। नेपालका विभिन्न जिल्लाबाट आउने भक्तजनसँगै भारतको बिहारलगायत स्थानबाट समेत तीर्थयात्री आउने भएकाले मन्दिर क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न समितिले सरकारसँग आग्रह गरेको छ।
समितिले विशेषगरी जङ्गलको बाटोमा व्यवस्थित प्रतीक्षालय, शौचालय, खानेपानी, विश्रामस्थल, सरसफाइ, प्रकाश तथा सूचना केन्द्रको व्यवस्था गर्न माग गरेको छ। ठूलो सङ्ख्यामा श्रद्धालु आउने समयमा सम्भावित स्वास्थ्य समस्या तथा दुर्घटनालाई ध्यानमा राख्दै आकस्मिक स्वास्थ्य सेवाको व्यवस्था गर्नसमेत समितिले आग्रह गरेको छ।

टुटेश्वर क्षेत्रको दीर्घकालीन र योजनाबद्ध विकासका लागि गुरुयोजना (मास्टर प्लान) तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी पूर्वाधार निर्माण तथा संरक्षणका काम अघि बढाउनुपर्ने मागसमेत समितिले अघि सारेको छ।
स्थानीयवासीले टुटेश्वर क्षेत्रको धार्मिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न सके यसलाई महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका छन्। भारतसँगको भौगोलिक निकटता र साउन महिनामा हुने ठूलो धार्मिक आवागमनलाई समेत व्यवस्थित गर्न सके स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्ने उनीहरूको भनाइ छ।

मन्त्री पौडेलले टुटेश्वरनाथको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वलाई राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो। धार्मिक पर्यटनको विकासका लागि आवश्यक पूर्वाधार निर्माण, प्रचारप्रसार तथा मन्दिरको ऐतिहासिक र पुरातात्त्विक महत्वको अध्ययन, अनुसन्धान र संरक्षणका लागि सम्बन्धित निकायसँग समन्वय गरी काम अघि बढाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।











