विनय कर्ण,कल्याणपुर (सप्तरी)- दुई छोरीको आमा बनेकै कारण बुहारीलाई यातना दिँदै विष सेवन गराएर हत्या गरेको अभियोगमा सप्तरीमा पाँच वर्षपछि ससुरा पक्राउ परेका छन् । बोदेबरसाइन नगरपालिका–८ काचन टोलका ५५ वर्षीय बद्री दासलाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको हो ।
२५ वर्षीया बुहारी शिवकुमारी दासको हत्या गरेको अभियोगमा फरार रहेका बद्रीलाई गोप्य सूचनाका आधारमा बिहीबार राति इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिनुभयो ।



प्रहरी अनुसन्धानअनुसार शिवकुमारीको जीवन दोस्रो छोरी जन्मिएपछि झन् कठिन बन्दै गएको थियो । घटनाको करिब एक महिनाअघि उहाँले दोस्रो छोरी जन्माउनुभएको थियो । छोरी मात्र जन्माएको निहुँमा परिवारका सदस्यबाट पटक–पटक यातना र कुटपिट सहनुपरेको र अन्ततः २०७७ कात्तिक १७ गते जबर्जस्ती विष सेवन गराई हत्या गरिएको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार घटनामा शिवकुमारीका श्रीमान् लालोप्रसाद दास, देवर सञ्जीव र धनेश्वर, नन्द भुटनीदेवी तथा सासु सीतादेवीसमेत संलग्न रहेको आरोप छ । घटनापछि उनीहरू सबै फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध सप्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।
शिवकुमारीका बुबा रामदेवले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कडरबोनामा बद्रीसहित छ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । प्रहरी नायब उपरीक्षक घिमिरेका अनुसार बद्रीलाई विष सेवन गराई कर्तव्य ज्यानसम्बन्धी कसुरमा पक्राउ गरी शुक्रबार सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।
पाँच वर्षअघि भएको घटनापछि न्यायको पर्खाइमा रहेको शिवकुमारीको परिवारका लागि बद्रीको पक्राउले अनुसन्धान अघि बढ्ने आशा जगाएको छ । घटनाका अन्य आरोपित अझै फरार रहेकाले उनीहरूलाई समेत पक्राउ गरी घटनाको पूर्ण अनुसन्धान गर्नुपर्ने माग परिवारजनले गर्दै आएका छन् ।
कञ्चनरूप नगरपालिका–३ बरमझिया माइतीघर रहेकी शिवकुमारीका दुई छोरीमध्ये नौ वर्षीया जेठी छोरी अहिले हजुरबुबा रामदेवसँगै बस्दै आएकी छन् भने पाँच वर्षीया कान्छी छोरी श्रीमानको परिवारसँग बस्दै आएको रामदेवले बताउनुभयो ।
सिटी रिक्सा चलाएर रामदेवले नातिनी र परिवारको पालनपोषण गर्दै आउनुभएको छ । छोरी गुमाएको पीडा एकातिर छ भने अर्कोतिर नातिनीहरूको भविष्यको चिन्ताले पिरोलिरहेको उहाँले बताउनुभयो ।
“छोरीहरूलाई आमाको माया चाहिने बेलामा उनीहरूले आमा गुमाए,” रामदेवले भन्नुभयो, “हामीलाई न्याय चाहिएको छ । दोषी सबैलाई कानुनी कारबाही हुनुपर्छ ।”
समाजमा अझै पनि छोरा जन्मिए खुसी र छोरी जन्मिए बोझका रूपमा हेर्ने सोच कायमै रहँदा महिलामाथि हुने हिंसाका घटना सार्वजनिक भइरहेका छन् । छोरी जन्माएको विषयलाई लिएर महिलामाथि मानसिक तथा शारीरिक यातना दिने घटना यसअघि पनि हुने गरेका भए पनि छोरी जन्माएकै निहुँमा महिलाको ज्यान लिएको यो घटना जिल्लामै गम्भीर प्रकृतिको भएको स्थानीयको भनाइ छ ।
स्थानीयले घटनालाई महिलाविरुद्धको निर्दयी अपराध भन्दै सूक्ष्म अनुसन्धान गरी संलग्न सबैलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।– गोरखा पत्र




