महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिकाको धवौलीमा मङलवार साँझदेखि हराइरहेका एक वृद्धको वुधबार बिहान डुबेको अवस्थामा शव फेला परेको छ ।
जलेश्वर नगरपालिका –६ छोटका धवौलीवस्ने करिब ७५ वर्षिय जागेश्वर दासको शव डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक पञ्चलाल गोलेले जानकारी दिनुभयो ।



उहाँले मङलबार साँझ घुम्न निस्केका दास घर नआएपछि मङलबार रातिदेखि नै उहाँको खोजतलाश सुरु गरिएको जानकारी दिनुभयो ।
वुधबार बिहान जलेश्वर नगरपालिकाको वडा नं. ३ र ६ को सिमामा रहेको रातो नदीको पुलको खाल्डोमा उहाँको शव फेला परेको सूचना आएको बताउनुभयो । सूचनापश्चात् घटनास्थल पुगेका प्रहरीले मुचुल्का उठाएर शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाएको जानकारी दिनुहुदै जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता गोलेले भन्नुभयो, ‘घटना शंकास्पद नदेखिएको र उहाँको डुबेर नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । थप कुरा पोष्टमार्टम पश्चात जानकारी हुनेछ ।’
जिल्ला प्रहरी कार्यालय महोत्तरीले तीन वर्षमा जिल्लामा १७ जनाको डुबेर मृत्यु भएको जनाएको छ । आर्थिक वर्ष २०८१–८२ मा सात जना, २०८२–८३ मा छ जना र चालु आर्थिक वर्षमा चार जनाको डुबेर मृत्यु भएको मुद्दा दर्ता रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता गोलेले जानकारी दिनुभयो ।




