बारा। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१, दसधुरेकी तीन वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
जीतपुरसिमरा–२ घर भएका १६ वर्षीय सुमन थापा र प्रोगेस चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख दिलिप क्षेत्रीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कलैयामा पत्रकार सम्मेलन गरेर घटनाबारे सार्वजनिक गरिने उनको भनाइ छ ।



इलाका प्रहरी कार्यालय सिमराका अनुसार घटनामा संलग्न थापा र चौधरी म्याजिक चलाउने सवारी चालक तथा सहचालक हुन् । प्रहरीका अनुसार थापाले बालिकालाई चकलेटको प्रलोभन देखाएर सुनसान रहेको घरमा लगेको र बलात्कारपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
साउन ३१ गते बेपत्ता भएकी बालिकालाई सोही दिन हत्या गरेको बयान आरोपितले प्रहरी समक्ष दिएका छन् । बालिकाको शव भने अहिले परीक्षणका लागि कलैयास्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।
बालिकाको शव फेला परेको केही बेरमै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
३ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा स्थानीयले बुधबार बिहान १० बजेदेखि नै पथलैया–वीरगन्ज सडकखण्डमा प्रदर्शन गरेका छन् । उनीहरूले दोषीमाथि कडा कारबाहीको माग राख्दै राजमार्गमा टायर बालेर प्रदर्शन गरेका हुन्।




