जनकपुरधाम । सशस्त्र प्रहरी बल नेपालले पछिल्लो तीन महिनामा मधेश प्रदेशबाट २७ करोड ८५ लाख रुपियाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ । बरामद सामानमा किराना, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवेयर, मोटरपार्ट्स तथा कस्मेटिकलगायत सामग्री रहेका छन् ।
अवैध सामान ओसारपसारमा प्रयोग भएका १० करोड २२ लाख रुपियाँभन्दा बढी मूल्यका सवारीसाधनसमेत नियन्त्रणमा लिएर भन्सार दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सोही अवधिमा ३० लाख रुपियाँभन्दा बढी मूल्यको एक हजार १०० क्युबिक फिट काठ र १०२ ग्राम चाँदी बरामद गरिएको छ । अवैध कारोबारमा संलग्न ८४ जनालाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइएको छ ।



मधेश प्रदेशस्थित सीमा क्षेत्रमा हुने लागूऔषध ओसारपसार नियन्त्रणमा समेत सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । तीन महिनाको अवधिमा १९३ ग्राम ब्राउन सुगर, नौ किलो ५०० ग्राम चरेस र एक हजार ६६६ किलोग्रामभन्दा बढी गाँजा बरामद गरिएको छ ।
यसैगरी तीन थान कटुवा पेस्तोल, दुई थान सिक्सर, दुई थान भरुवा बन्दुक तथा त्यसका राउन्ड र बारुदसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । मानव बेचबिखनको आशंकामा २९ महिला र ३० पुरुष गरी ५९ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
सशस्त्र प्रहरीले मधेश प्रदेशका विभिन्न नदीजन्य क्षेत्रमा अवैध उत्खननमा प्रयोग भएका २२ ट्याक्टर, २६ टिपर र दुई जेसीबीसमेत नियन्त्रणमा लिएको छ ।
सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरीले बाहिनीमा वरिष्ठ अधिकृतको कमान्डमा स्ट्राइकिङ टोली परिचालन गरेको छ । सीमा क्षेत्रमा अनुगमनका लागि गणहरूमा समेत अधिकृत खटाइएको जनाइएको छ ।
सशस्त्र प्रहरीले नेपाल–भारत खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन तथा सीमा अपराध नियन्त्रणका साथै दशगजा क्षेत्रको सुरक्षा र सीमा अतिक्रमण रोक्न सम्बन्धित निकाय तथा भारतीय सुरक्षा निकायसँग समन्वय गर्दै आएको जनाएको छ ।
सीमा चिह्नको डिजिटल अभिलेख तथा भौतिक अवस्थाको अद्यावधिक गर्ने, सीमा स्तम्भको मर्मतसम्भारमा समकक्षी भारतीय सुरक्षा निकायसँग समन्वय गर्ने तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।





