सिरहा । साथीसँग मोबाइलमा कुरा गरेको निहुँमा घरको झ्याल, ढोका थुनेर भात पकाउने चुलोमा तताएको फलामे रडले आफ्नै श्रीमतीलाई निर्घात कुटपिट गर्ने श्रीमान् ज्यान मार्ने उद्योगअन्तर्गत कसुर मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएका छन् ।
सिराहाको नवराजपुर गाउँपालिका– ४ की करिब २५ वर्षीया सञ्जना कुमारीको हातखुट्टा बाँधेर कपडा कोच्दै मुखमा टेप लगाएर तातेको फलामे रडले निर्घात कुटपिटमा संलग्न रहेका करिब ३४ वर्षीय रामशंकर यादव ज्यान मार्ने उद्योगसम्बन्धी कसुरसम्बन्धी मुद्दामा कारागार चलान गरिएका हुन् ।



सिराहा जिल्ला अदालतका न्यायाधीश जुद्धबहादुर आलेको एकल इजलासले मंगलबार यादवलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि सोही दिन सिराहा कारागार चलान गरिएको हो ।
सञ्जनालाई कुटपिट गर्न सघाएका देवर श्यामसुन्दर यादव भने फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय महेशपुर पतारले जनाएको छ ।
५ साउनको राति सञ्जनालाई दाजुभाइले बाहिर हल्ला हुन नदिन मुखमा टेप टाँसेर हातखुट्टा बाँधी चुलोमा तताएको रडले निर्घात कुटपिट गरेको थाहा पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले रामशंकरलाई पक्राउ गरी ज्यान मार्ने उद्योगसम्बन्धी कसुर मुद्दामा अदालतबाट म्याथ थप गरी सूक्ष्म अनुसन्धान गरिएको महेशपुर पतार प्रहरी प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिए ।
श्रीमानको मोबाइलमा उनकै साथीको पटक–पटक फोन आएपछि उठाएर कुरा गर्दा ‘किन अरूसँग कुरा गरेको’ भन्दै तताएको फलामे रडले निर्घात कुटपिट गरिएपछि गम्भीर घाइते भएकी उनलाई नवराजपुर आधारभूत अस्पतालमा करिब पाँच दिनसम्म राखेर उपचार गरिएको स्थानीयले बताए ।
छिमेकीहरूका अनुसार रामशंकरले मावली हजुरबा चन्देश्वर यादव घरमै रहेका वेला फलामे रड तताएर भाइको सहयोगमा श्रीमतीलाई निर्घात कुटपिट गरेका हुन् । तातो फलामको रडले कुटपिट गर्दा उनको हात, खुट्टा र पिठ्युँका विभिन्न ठाउँमा घाउ भएको थियो ।
कुटपिट गरेको आवाज बाहिर नजाओस् भन्नका लागि घरको झ्याल, ढोका थुनी ठुलो आवाजमा डिजे साउन्ड बजाएको भए पनि पीडित महिला चिच्याएको सुनेपछि छिमेकीहरूले घरको ढोका फोडेर तत्काल प्रहरीलाई खबर गरी उपचारका लागि गाउँपालिकामातहत रहेको आधारभूत अस्पताल पुर्याएका थिए ।




