जनकपुरधाम । बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा शनिबार बिहान सर्लाहीको लालबन्दीमा प्रदर्शन गरिएको छ।
गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै महेन्द्र राजमार्गस्थित लालबन्दी बजारमा प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरूले “गरिमालाई न्याय दे”, “हामी न्याय चाहन्छौँ”, “बलात्कार बन्द गर”, “हाम्रो चित्कार सुनिदेऊ”, “छोरीचेलीलाई बाँच्न देऊ”, “अपराधीलाई सजाय देऊ”, “हत्यारालाई कारबाही गर” तथा “बालिकाको सुरक्षा सुनिश्चित गर” लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।



विद्यार्थी, महिला, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामाजिक सङ्घसंस्थाका पदाधिकारी, अधिकारकर्मी तथा नागरिक अगुवालगायतको सहभागितामा लालबन्दीस्थित जनवादी चोकदेखि डुमडुमे मन्दिरसम्म दबाबमूलक र्याली निकालिएको थियो। त्यसपछि आयोजित कोणसभामा वक्ताहरूले दोषीमाथि कडा कारबाही र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न माग गरेका थिए।
कोणसभालाई सम्बोधन गर्दै मधेश प्रदेशसभा सदस्य बेची लुङ्गेलीले गरिमा चौधरीको हत्याले देशभरका नागरिकलाई स्तब्ध बनाएको बताउनुभयो। समाजमा मानवता हराउँदै गएको संकेत गर्ने यस्ता घटनाले सबैलाई लज्जित बनाएको उहाँको भनाइ थियो।
यस्ता जघन्य अपराध न्यूनीकरणका लागि घरपरिवार, समाज र विद्यालयस्तरमै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेकोमा प्रदेशसभा सदस्य लुङ्गेलीले जोड दिनुभयो।
गरिमा चौधरी हत्या प्रकरणलाई लिएर शनिबार बिहान महेन्द्र राजमार्गस्थित हरिवन बजारमा पनि प्रदर्शन गरिएको छ। हरिवनमा शुक्रबार साँझ महिला सञ्जालको अगुवाइमा पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन गरिएको थियो।
यस्तै, गरिमाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शुक्रबार साँझ सर्लाही सदरमुकाम मलङ्गवामा दीप प्रज्वलन कार्यक्रमसमेत आयोजना गरिएको थियो।
गरिमाको हत्या प्रकरणपछि बारासहित पर्सा, रौतहट, सर्लाहीलगायतका जिल्लामा विरोध प्रदर्शन र न्यायको माग गर्दै विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्।




