जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन गुठी संस्थानले आजदेखि डोजर प्रयोग गरी जग्गा खाली गराउन थालेको छ ।
गुठी संस्थानले पटक–पटक सूचना जारी गरी संरचना आफैँ हटाउन आग्रह गरे पनि अटेर गरेपछि स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा डोजर चलाइएको हो । संस्थानले जनकपुरधामका सातवटा पोखरीको अतिक्रमणसम्बन्धी लगत सङ्कलन गरी अतिक्रमित जग्गा खाली गराउने प्रक्रिया अघि बढाएको छ । जनकपुरधाममा गुठी संस्थानअन्तर्गत ४९ वटा पोखरी छन् । पोखरी, मठमन्दिर तथा अन्य गुठीको अतिक्रमण हटाउन गुठी संस्थानका प्रशासक ध्रुव घिमिरेको संयोजकत्वमा गठित नौ सदस्यीय समितिले काम गरिरहेको छ ।



समितिले सङ्कलन गरेको विवरणका आधारमा प्रतिवेदन तयार गरी संस्थानको केन्द्रीय कार्यालयमा बुझाइएको छ ।
आज करीब ६५ वटा संरचनामा डोजर चल्ने भएको छ ।




