सुजाता राई
विराटनगर । विद्यार्थीहरूको सिर्जनात्मक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले विराटनगरस्थित अरनिको कलेजमा आयोजित बृहत् खुला कविता प्रतियोगिता सम्पन्न भएको छ।




कक्षा ९ देखि १२ सम्मका ४२ जना प्रतिस्पर्धीलाई उछिन्दै कक्षा ९ की छात्रा आरोही ढकाल प्रतियोगितामा प्रथम भएकी हुन् । कलेजका निर्देशक भरतराज दाहालको संयोजकत्व तथा निर्देशक डा. भविन्द्र निरौलाको विशेष उपस्थितिमा आयोजित प्रतियोगितामा अंशिका गिरी र सेन्डृना कार्की द्वितीय, प्रसिद्ध पोखरेल र कनक कायस्थ तृतीय तथा अन्वेशा घलेले सान्त्वना स्थान हासिल गरेका छन्।

साहित्यकार एवं ‘ब्रेकिङन्यूज नेपाल’का प्रधानसम्पादक मीनकुमार नवोदित, वरिष्ठ साहित्यकार भरत गुरागाईं ‘बर्बरिक’ र साहित्यकार अम्बिका खरेल सम्मिलित निर्णायकमण्डलले उत्कृष्ट रचना छनोट गरेको थियो। विजयी प्रतिस्पर्धीहरूलाई कार्यक्रमका अतिथि तथा निर्णायकहरूले ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए।
शिक्षक विमल भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कक्षा १२ की छात्रा प्रस्तुति पराजुलीले गरेकी थिइन्। कलेजका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागितामा प्रतियोगिता सम्पन्न भएको हो।




