महोत्तरी – गौशाला नगरपालिकाद्वारा बाढीपीडितप्रति दुःख व्यक्त, उद्धार तथा राहतका लागि रु. १० लाख सहयोग गर्ने घोषणा
भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति गौशाला नगरपालिकाले दुःख व्यक्त गरेको छ।
गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले बुधबार जारी गर्नुभएको विज्ञप्तिमार्फत बाढी तथा विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ। उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।नगर प्रमुख डा. महतोले विपद्का समयमा प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ। विपद् कुनै एक क्षेत्र वा समुदायको मात्र समस्या नभई साझा सरोकारको विषय भएकाले मानवीय सहयोगका लागि सबै पक्ष एकजुट हुनुपर्ने उहाँको भनाइ छ।
“विपद्को पीडामा परेका नागरिकलाई तत्काल उद्धार र राहत उपलब्ध गराउनु अहिलेको मुख्य आवश्यकता हो। गौशाला नगरपालिका पीडित नागरिकको दुःखमा साथमा छ। खोज, उद्धार र राहतका लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार छ,” नगर प्रमुख डा. महतोले भन्नुभयो।



विपद्का समयमा गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति बढी जोखिममा पर्ने भएकाले उनीहरूको उद्धार तथा संरक्षणमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई उहाँले आग्रह गर्नुभएको छ।
विपद् प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले गौशाला नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तत्काल रु. १० लाख सहयोग गर्ने निर्णय गरेको छ। साथै, नेपाल सरकारबाट सञ्चालन गरिने खोज, उद्धार तथा राहतका कार्यमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता नगरपालिकाले जनाएको छ।
यसैबीच, मौसमी प्रतिकूलता तथा सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै गौशाला नगरपालिका क्षेत्रका नदी तथा खोला किनारमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन नगरपालिकाले आग्रह गरेको छ।
नगर प्रमुख डा. महतोले नदी तथा खोला किनारमा बसोबास गर्ने नागरिकलाई सम्भावित बाढी तथा डुबानको जोखिमलाई ध्यानमा राखी सतर्क रहन, स्थानीय प्रशासन तथा नगरपालिकाबाट जारी हुने सूचना पालना गर्न र जोखिम बढेको अवस्थामा तत्काल सुरक्षित स्थानमा जान आग्रह गर्नुभएको छ।
नगरपालिकाले विपद्को अवस्थामा सबै नगरवासीलाई एकआपसमा सहयोग गर्दै सम्भावित जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनका कार्यमा सहयोग गर्न समेत अपिल गरेको छ।





