काठमाडौं – स्वास्थ्य मन्त्रालयले विपद्को विषम परिस्थितिमा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन निर्देशन दिएको छ ।
मन्त्रालयले सार्वजनिक बिदाको दिनमा समेत खोज, उद्धार र उपचार सेवाका लागि तयारी अवस्थामा रहन कर्मचारीलाई निर्देशन दिएको हो ।



मन्त्रालयको प्रशासन तथा व्यवस्थापन शाखाले शुक्रबार जारी गरेको निर्देशनमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित क्षेत्रमा खोज, उद्धार, स्वास्थ्योपचार र राहतको काम भइरहेको जनाएको छ ।
मन्त्रालयले आफू मातहतका सबै कर्मचारीलाई विपद् व्यवस्थापनमा खटिन सक्ने गरी विशेष कारण र अत्यावश्यक कामबाहेक बिदा तथा काज स्वीकृत नगर्नरनगराउन निर्देशन दिएको छ ।
त्यस्तै, खोज, उद्धार तथा उपचारसँग सम्बन्धित निकायका प्रमुख, फोकल पर्सन र जिम्मेवार पदाधिकारीलाई बिदाको दिनमा समेत कार्यालयमा उपस्थित हुन भनिएको छ ।
अन्य कर्मचारीलाई पनि आवश्यक सेवा प्रवाहका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई भने सार्वजनिक बिदाको दिनमा समेत बाढीपहिरो प्रभावित घाइतेहरूको उपचारका लागि आवश्यक व्यवस्था मिलाउन मन्त्रालयले अनुरोध गरेको छ ।




