जीवनराज दाहाल
बर्दिबास । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि बर्दिबास नगरपालिकाले बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।



बर्दिबास नगरपालिकाको बैठकले नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट १२ लाख ५१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै उद्धार तथा पुनर्स्थापनाको कार्यमा सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाले उक्त रकम सहयोग गर्न लागेको हो ।
बैठकमा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण विभिन्न जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ । बाढी तथा प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ । साथै, बाढीका कारण घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन भएका व्यक्तिहरूको सकुशल उद्धारका लागि समेत कामना गरिएको छ ।
नगरपालिकाले आफ्नो तर्फबाट आर्थिक सहयोग गर्ने निर्णयसँगै बर्दिबास नगरपालिकाभित्र रहेका विभिन्न संघसंस्था, निजी क्षेत्र, नागरिक समाज, व्यक्ति तथा अन्य सरोकारवाला निकायलाई पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको छ । विपद्को समयमा सबै पक्षबाट सहयोग र सहकार्य आवश्यक रहेको भन्दै नगरपालिकाले सहयोगका लागि आह्वान गरेको हो ।
त्यस्तै, बैठकले बर्दिबास नगरपालिका क्षेत्रभित्र भविष्यमा आउन सक्ने प्राकृतिक तथा गैरप्राकृतिक विपद्को जोखिम पहिचान गर्ने निर्णयसमेत गरेको छ ।
नगरपालिका, सुरक्षा निकाय, विभिन्न संघसंस्था तथा अन्य सरोकारवाला निकायसँगको सहकार्यमा सम्भावित विपद्का क्षेत्र तथा प्रभावित हुन सक्ने समुदायको खोजी, अध्ययन तथा मूल्यांकन गरिने भएको छ ।
यसबाट बर्दिबास नगरपालिकाले तत्कालीन राहत सहयोगसँगै आगामी दिनमा विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीलाई समेत प्राथमिकतामा राखेको देखिन्छ । सम्भावित जोखिमयुक्त क्षेत्रको पहिचान गरी समयमै आवश्यक तयारी गर्न सके विपद्का कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न सकिने नगरपालिकाको निर्णयको उद्देश्य रहेको छ ।
भोटेकोशी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको अवस्थामा बर्दिबास नगरपालिकाको यो आर्थिक सहयोगले पीडितको उद्धार, राहत तथा पुनर्स्थापनामा केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, नगरपालिकाले गरेको आह्वानपछि स्थानीय संघसंस्था, व्यवसायी, नागरिक समाज तथा सर्वसाधारणबाट समेत थप सहयोग जुट्ने अपेक्षा गरिएको छ ।




