सुजाता राई
विराटनगर । राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा परोपकार अभियान समूह विराटनगरले १९औँ राष्ट्रिय पुस्तकालय दिवस विविध कार्यक्रमसहित मनाएको छ।



परोपकार पुस्तकालयका संस्थापक प्राज्ञ दधिराज सुवेदीको स्मरण गर्दै आयोजित कार्यक्रममा पुस्तकालयको महत्व, आवश्यकता र वर्तमान अवस्थाका साथै नेपाली भाषा–साहित्यमा सुवेदीले पुर्याएको योगदानबारे चर्चा गरियो।
कार्यक्रममा वक्ताहरूले प्राज्ञ दधिराज सुवेदी बहुआयामिक प्रतिभाका धनी रहेको उल्लेख गर्दै नेपाली भाषा–साहित्यको क्षेत्रमा उनको योगदान अविस्मरणीय रहेको बताए। सादा जीवन र उच्च विचारका धनी सुवेदी समालोचक मात्र नभई कुशल अन्वेषक, निबन्धकार, कवि तथा साहित्यिक अभियन्तासमेत रहेको उनीहरूको भनाइ थियो।
प्रतिभा पुरस्कार प्रतिष्ठान तथा पूर्वाञ्चल साहित्यिक प्रतिष्ठानका संस्थापकसमेत रहेका सुवेदीको परिकल्पना र संयोजनमा परोपकार पुस्तकालय स्थापना भएको कार्यक्रममा स्मरण गरिएको थियो। परोपकार पुस्तकालयको स्थापना र विकासमा सुवेदीको विशेष योगदान रहेको वक्ताहरूले बताए।

कार्यक्रममा पुस्तकालयको महत्व र आवश्यकताबारे प्रा. डा. भेषप्रसाद धमलाले विचार व्यक्त गरेका थिए। दधिराज सुवेदीको कृतित्वमाथि प्राज्ञ विवश पोखरेल तथा व्यक्तित्वमाथि प्राध्यापक कविराज न्यौपानेले प्रकाश पारेका थिए।
संस्थाकी सह–कोषाध्यक्ष तथा पुस्तकालय संयोजक इन्दु सुवेदीले परोपकार पुस्तकालयको स्थापनाकालदेखि हालसम्मको अवस्थाबारे जानकारी गराउँदै सहभागीलाई स्वागत गरेकी थिइन्।
संस्थाका सचिव कुलप्रसाद पौडेलले संस्थाका गतिविधिबारे जानकारी गराए भने उपाध्यक्ष किशोर भट्टराईले परोपकार अभियान समूहको स्थापनाकालदेखि हालसम्मको अवस्था र संस्थाको परिचय प्रस्तुत गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशकी सभासद शिला दीक्षित कार्कीले परोपकार अभियान समूह विराटनगरले विशिष्ट योगदान पुर्याउँदै आएको बताइन्। उनले संस्थाले सामाजिक तथा साहित्यिक क्षेत्रमा गर्दै आएको गतिविधिको प्रशंसा गरिन्।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार बलराम पोखरेलले परोपकार अभियान समूहका गतिविधि तथा परोपकार पुस्तकालयका संस्थापक दधिराज सुवेदीको योगदानको समाजले मूल्याङ्कन गर्दै आएको बताए। उनले विभिन्न समुदायका मानिसलाई जोड्ने कार्यमा संस्थाले सह्रानीय भूमिका निर्वाह गरेको उल्लेख गरे।
संस्थाका अध्यक्ष बाबुराम न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष न्यौपानेले सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रमको अन्त्यमा मुलुकमा हालै घटेको विपत्तिमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरिएको थियो। साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दिवङ्गतप्रति सामूहिक श्रद्धाञ्जली अर्पण गरिएको थियो।




