जनकपुरधाम । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्न धनौजी गाउँपालिकाले १५ लाख १५ हजार ५१५ रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। धनुषाको सो गाउँपालिकाको सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकमा विपद् व्यवस्थापन कोषबाट सात लाख रुपियाँ र जनप्रतिनिधि तथा कर्मचारीबाट आठ लाख १५ हजार ५१५ रुपियाँ जुटाउने निर्णय गरेको प्रशासन प्रमुख राजकुमार दासले जानकारी दिनुभयो। दासका अनुसार उक्त रकम जनप्रतिनिधि तथा कर्मचारीको सेवा सुविधाबाट निश्चित दिनको पारिश्रमिक कट्टा गरी संकलन गरिनेछ ।



अधिकृतस्तरका कर्मचारीबाट सात दिन, सहायक स्तरबाट पाँच दिन र श्रेणीविहीन कर्मचारीबाट दुई दिन बराबरको पारिश्रमिक कट्टा गरिनेछ। त्यसैगरी, निर्वाचित पदाधिकारीतर्फ कार्यपालिका सदस्यबाट ११ दिन तथा वडा सदस्यबाट सात दिन बराबरको सेवा सुविधा कट्टा गरी सहयोग रकम जुटाइने उहाँले बताउनुभयो ।
रकम संकलनको प्रक्रिया सुरु भइसकेको र बाँकी रकम संकलन भएपछि दुई–तीन दिनभित्र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने उहाँले जानकारी दिनुभयो । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गाउँपालिकाले दुःख व्यक्त गरेको छ ।
गाउँपालिका अध्यक्ष राजकुमार साहले विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको बताउनुभयो ।
उहाँले विपद्को समयमा पीडित नागरिकलाई स्थानीय तहको साथ रहेको उल्लेख गर्दै सहयोगलाई मानवीय दायित्वका रूपमा लिइएको बताउनुभयो ।




