सुजाता राई
विराटनगर । घरेलु तथा साना उद्योग कार्यालय, कोशी प्रदेशको आयोजनामा तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी समिति मोरङको समन्वयमा सञ्चालित सातदिने तीज सीप विकास तालिम मंगलबार सम्पन्न भएको छ।



तालिममा बाटेको धूप, कोन धूप र मैनबत्ती बनाउने सीप प्रदान गरिएको थियो। घरमै बसेर उत्पादन गर्न सकिने सामग्री निर्माणसम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको हो।
तालिमकी प्रशिक्षक तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी समिति मोरङकी निवर्तमान अध्यक्ष सुनिता छाराहाङले सहभागीलाई सामग्री निर्माणका साथै सीपलाई व्यावसायिक रूपमा उपयोग गर्न सकिने विषयमा समेत जानकारी दिइएको बताइन्।
विराटनगरका विभिन्न वडाबाट २६ जना प्रशिक्षार्थी सहभागी तालिममा सीप सिकेर घरायसी प्रयोजनका सामग्री आफैँ उत्पादन गर्नुका साथै त्यसलाई आयआर्जनको माध्यम बनाउन सकिने सहभागीहरूले बताएका छन्।

तालिमबाट आवश्यक सीप हासिल गर्न पाउँदा आफूहरू सन्तुष्ट रहेको उनीहरूको भनाइ थियो।
समापन कार्यक्रममा प्रमुख अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघका चेतन निरौलाले महिलाका लागि सीप विकास आयआर्जन र आत्मनिर्भरताको महत्वपूर्ण आधार भएको बताए। उनले महिलाहरूले सिकेको सीपलाई व्यवहारमा उतार्दै आयआर्जनसँग जोड्नुपर्नेमा जोड दिए।

सीप भनेको सीप नै हो, महिलाहरूले सीप सिक्न अत्यन्त आवश्यक भएको र‘सीपलाई आयआर्जनमा जोड्न सके आफ्नै घरखर्च धान्न तथा जीवनयापनलाई सहज बनाउन महत्वपूर्ण आधार बन्न रहेको उनले धारण राखे । घरेलु तथा साना उद्योग महासंघमा आबद्ध उद्यमीहरूलाई व्यवसाय सञ्चालनका क्रममा आवश्यक सल्लाह तथा सुझावका लागि प्रशिक्षक सुनिता छाराहाङसँग सहयोग लिन सकिने बताए।
तालिम समापन कार्यक्रमको अध्यक्षता घरेलु तथा साना उद्योग कार्यालय मोरङका प्रमुख मेघराज बस्नेतको थियो भने नेपाल घरेलु तथा साना उद्योग महासंघका चेतन निरौलाको प्रमुख अतिथ्यतामा महिला उद्यमी समिति मोरङकी अध्यक्ष अमृता भण्डारी अतिथि रहेकी थिइन्।
कार्यक्रम सञ्चालन घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत शंकर कार्कीले गरेका थिए। सातदिने तालिममा छाराहाङले प्रशिक्षण दिएकी थिइन्।




