धनुषा । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि धनुषाको मिथिला नगरपालिकाले ४१ लाखभन्दा बढी रुपियाँ सहयोग गरेको छ ।
नगरपालिकाले बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गर्नुका साथै विपद्को घडीमा सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाभित्र कार्यरत जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विद्यालयका कर्मचारीबाट समेत रकम सङ्कलन गरिएको जनाएको छ।



नगरपालिकाका अनुसार नगर प्रमुखबाट ५१ हजार १५१ रुपियाँ, नगर उपप्रमुखबाट १२ हजार रुपियाँ तथा जनप्रतिनिधिबाट ३ लाख ३३ हजार १६५ रुपियाँ १० पैसा सहयोग गरिएको छ । त्यस्तै स्थानीय तह विपद् व्यवस्थापन कोषबाट ११ लाख रुपियाँ उपलब्ध गराइएको छ।
नगरपालिकामा कार्यरत कर्मचारी तथा वडा कार्यालय र स्वास्थ्यकर्मीबाट करिब १० लाख रुपियाँ र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालयका कर्मचारीबाट करिब १६ लाख ४५ हजार रुपियाँ सहयोग जुटाइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले यसरी सङ्कलन हुने रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाएको छ । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
नगर प्रमुख महेन्द्र महतो, प्रमुख प्रशासकीय अधिकृत हरि शंकर यादव तथा लेखा अधिकृत रामबाबु साह द्वारा जारी प्रेस विज्ञप्तिमा विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सबै पक्षबाट सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ ।





