सुजाता राई
विराटनगर–३ स्थित कन्यामार्ग टोल विकास संस्थाको तेस्रो साधारणसभा सम्पन्न भएको छ।



संस्थाकी अध्यक्ष निर्मला नेपालको अध्यक्षतामा भएको सभामा विराटनगर महानगरपालिका–३ का वडाध्यक्ष बासुबहादुर बस्नेत प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा उपाध्यक्ष सुधा बरालले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन्।

सभामा दिनेशराज सुवेदी, गणेश बज्राचार्य, ढुण्डीराज पोखरेल र बासुबहादुर बस्नेतले कन्यामार्ग टोलको इतिहास, विकासक्रममा देखिएका आरोह–अवरोह तथा सामाजिक रूपान्तरणमा टोल विकास संस्थाको भूमिकाबारे धारणा राखेका थिए।
सो अवसरमा टोलका ज्येष्ठ नागरिक अमलप्रसाद शर्मा र सावित्रीदेवी तिम्सिनालाई सम्मान गरिएको थियो। यस्तै, स्वागतद्वार निर्माणका लागि विशेष आर्थिक सहयोग गर्ने सन्तोषकुमार बस्नेत र तेजलाल कर्णलाई पनि सम्मान गरिएको थियो।
संस्थाकी कोषाध्यक्ष मीरा कोइरालाले आर्थिक वर्ष २०८२/८३ को आय–व्यय विवरण प्रस्तुत गरेकी थिइन्। स्वागतद्वार निर्माण समितिका संयोजक कृष्णप्रसाद खतिवडाले निर्माण कार्यको लागत विवरण सभामा जानकारी गराएका थिए।
संस्थाका सचिव सुरेन्द्रकुमार बजिमयले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष निर्मला नेपालले धन्यवाद ज्ञापन गर्दै सभा समापन भएको घोषणा गरेकी थिइन्।
७४ घरधुरी समेटेर गठन भएको कन्यामार्ग टोल विकास संस्थाले टोलको सामाजिक तथा भौतिक विकासका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाइएको छ।




