बटेश्वर,धनुषा – रसुवा–भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवार तथा रसुवावासीप्रति ऐक्यबद्धता जनाउन धनुषाको बटेश्वर बजारमा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
सोमबार साँझ बटेश्वर बजारमा आयोजित कार्यक्रममा बाढीमा परी दिवङ्गत भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामना गरिएको थियो।



कार्यक्रममा २०८२ भदौ २३ र २४ गते शहादत प्राप्त गरेकाहरूको समेत स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।
दुःखद् घडीमा प्रभावित परिवार तथा सम्पूर्ण रसुवावासीप्रति ऐक्यबद्धता जनाउँदै मानवीय संवेदना प्रकट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा बटेश्वर तथा आसपासका स्थानीयवासी, युवा, नागरिक समाज, शुभेच्छुकलगायतको सहभागिता रहेको थियो। सहभागीहरूले श्रद्धाको दीप प्रज्वलन गर्दै विपद्मा ज्यान गुमाएकाहरूप्रति सम्मान तथा प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गरेका थिए।
‘दुःखमा साथ, पीडितसँग ऐक्यबद्धता’ भन्ने भावनाका साथ आयोजित कार्यक्रमले विपद्को समयमा मानवीय संवेदना, सामाजिक एकता र ऐक्यबद्धताको सन्देश दिएको आयोजकले जनाएको छ।




