बर्दिबास । भोटेकोशी नदीमा आएको भीषण बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूको सम्झनामा महोत्तरीको बर्दिबासमा सोमबार साँझ दीप प्रज्वलन गरिएको छ ।
राष्ट्रिय शोक दिवस तथा श्रद्धाञ्जलि सभाका रूपमा बर्दिबास चोकस्थित तीनकुनेमा आयोजित कार्यक्रममा विभिन्न सामाजिक सङ्घसंस्था, व्यवसायी, सञ्चारकर्मी, नागरिक समाज तथा स्थानीयवासीले सहभागी भई दिवङ्गतप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।



कार्यक्रममा सहभागीहरूले सडकमा दीप प्रज्वलन गर्दै बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकको आत्माको चिरशान्तिको कामना गरेका थिए । घटनामा बेपत्ता भएकाहरूको खोजी तथा प्रभावित परिवारको उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकारसँग आग्रहसमेत गरिएको थियो ।

कार्यक्रमस्थलमा दीप प्रज्वलन गरी विभिन्न सन्देश तथा श्रद्धाञ्जलिका शब्द लेखिएको थियो । शोकमा रहेका परिवारप्रति ऐक्यबद्धता जनाउँदै सहभागीहरूले विपद्को पीडामा सबैले साथ दिनुपर्नेमा जोड दिएका थिए ।
पूर्व कर्मचारी समाज बर्दिबास, बर्दिबास नगर पत्रकार सञ्जाल, बर्दिबास उद्योग वाणिज्य संघ, बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, लायन्स क्लब अफ बर्दिबास समाज, रोटरी क्लब अफ बर्दिबास, प्रगतिशील लेखक संघ मधेश प्रदेश, होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरी, लियो क्लब अफ बर्दिबास समाज, रोट्रयाक क्लब अफ बर्दिबास, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान महोत्तरी, नागरिक समाज बर्दिबास, गौरीबास सेवा समिति र गौरीबास युथ क्लबको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

आयोजक संस्थाहरूले भोटेकोशी बाढीमा परी दिवङ्गत भएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रभावित परिवारको दुःखमा सबैलाई साथ दिन आह्वान गरेका छन् ।




