महोत्तरी – चौरचन (चौठचन्द्र/गणेश चतुर्थी) र हरितालिका तीज पर्व एकै दिन परेकाले महोत्तरीका चार स्थानीय तहले भदौ २९ गते सोमबार स्थानीय बिदा दिने निर्णय गरेका छन्।
औरही नगरपालिका, मटिहानी नगरपालिका, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकाले अत्यावश्यक सेवाबाहेक कार्यालय तथा मातहतका निकायमा स्थानीय बिदा दिने निर्णय गरेका हुन्।



औरही नगरपालिकाले धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार घरघरमा पूजा, उपासना तथा विभिन्न धार्मिक अनुष्ठान हुने भएकाले नगरपालिका कार्यालय र मातहतका कार्यालयमा स्थानीय बिदा दिने जनाएको छ।
मटिहानी नगरपालिकाले चौरचन, हरितालिका तीज तथा गणेश पूजाको अवसरमा नगरपालिका कार्यालय तथा मातहतका निकायमा बिदा दिने निर्णय गरेको छ। त्यसैगरी रामगोपालपुर नगरपालिकाले चौरचन पर्वका अवसरमा अत्यावश्यक सेवाबाहेकका कार्यालयमा स्थानीय बिदा दिने जनाएको छ।
सम्सी गाउँपालिकाले भने गाउँपालिकाको कार्यालय र मातहतका कार्यालयसँगै विद्यालयमा समेत स्थानीय बिदा दिने निर्णय गरेको छ। स्थानीय तहले जारी गरेका सूचनामा पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राखी बिदा दिने निर्णय गरिएको उल्लेख छ।
मिथिला क्षेत्रमा विशेष धार्मिक तथा सांस्कृतिक महत्वका साथ मनाइने चौरचन पर्वमा चन्द्रमाको पूजा गर्ने परम्परा छ। पर्वका दिन व्रत बसेर साँझ चन्द्रमालाई विभिन्न प्रकारका प्रसाद तथा नैवेद्य अर्पण गरी पूजा गर्ने चलन रहेको छ।
त्यस्तै, हरितालिका तीजमा महिलाले व्रत बसी भगवान् शिव तथा पार्वतीको पूजा–आराधना गर्ने परम्परा छ। तीजका अवसरमा महिलाहरूले सामूहिक रूपमा गीत, नृत्य तथा धार्मिक गतिविधिमा सहभागी हुने गरेका छन्।
दुवै पर्व एकै दिन परेकाले महोत्तरीका सम्बन्धित स्थानीय तहले स्थानीय बिदा दिने निर्णय गरेका हुन्। स्थानीय तहको निर्णयसँगै पर्व मनाउने सर्वसाधारणलाई धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहज सहभागिता हुने अपेक्षा गरिएको छ।




