सुजाता राई
विराटनगर । प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रम, प्रश्नपत्र निर्माण तथा अध्यापन–सिकाइमा सूचना प्रविधिको प्रयोगसम्बन्धी शिक्षक तालिम तथा कार्यशाला सम्पन्न भएको छ।



विराटनगरका विभिन्न विद्यालयबाट २५ जनाभन्दा बढी शिक्षक सहभागी रहेको तालिमका सहजकर्ता पाठ्यक्रम विकास केन्द्रका विज्ञ तथा पाठ्यपुस्तक लेखक इन्जिनियर नवीन मास्के थिए। तालिमलाई प्रिन्ट नेपाल पब्लिकेसन्सले सहयोग गरेको थियो।
समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराई प्रमुख अतिथि थिए। कार्यक्रममा प्रिन्ट व्लपाल पब्लिकेसन्सका प्रबन्ध निर्देशक राजेन्द्र थपलिया, प्याब्सन विराटनगरका उपाध्यक्ष अशोक लामा, सहसचिव दिनेश ढुङ्गाना, सदस्य विजय सिंहलगायतको उपस्थिति थियो।
सहभागी शिक्षक विशाल अग्रहरीले तालिम उपलब्धिमूलक रहेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
प्रमुख अतिथि भट्टराईले प्याब्सन विराटनगरले विद्यार्थीको सर्वाङ्गीण विकाससँगै शिक्षकको व्यावसायिक क्षमता विकासमा पुर्याएको योगदानको प्रशंसा गरे। उनले विराप टनगरलाई शैक्षिक हबका रूपमा विकास गर्न प्याब्सनले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए।
प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले समयअनुकूल शिक्षाका लागि शिक्षकको क्षमता विकास आवश्यक रहेको बताए। उनले आगामी दिनमा पाठ्यक्रम, सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्तासम्बन्धी तालिमलाई निरन्तरता दिने जानकारी दिए।
तालिममा सहभागी शिक्षकलाई समापन कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको थियो।




