
महोत्तरी - महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडानं. ८ बस्ने सुनिता महरा आयआर्जनको लागि बाख्रा पाएपछि खुशी देखिइन । उनले बाख्रालाई पालेर सो को किनबेचबाट घर परिवार चलाउनुका साथसाथै आयआर्जनमा समेत टेवा पुग्ने भएपछि खुशी भएको वताइन ।
उनी मात्रै होइन जलेश्वर नगरपालिका वडानं. ८ का २५ अति विपन्न कृषक परिवार अहिले खुशी छन् । उनीहरुले आयआर्जनको लागि आफुहरुले माँग गरे वमोजिमको बाख्रा पाएपछि खुशी छन् ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ‘समृद्धि’को सहयोग तथा माँ वैभव लक्ष्मी कृषि सहकारी संस्था लिमिटेडले वडानं. ८ का अति विपन्न २५ कृषक परिवारलाई आयआर्जनको लागि तिन/तिन वटा बाख्रा वितरण गरेको हो ।
संस्थाका अध्यक्ष रागनी पाठकले संस्थामा रहेका विपन्न महिलाहरुले आयआर्जनको लागि आफुहरु बाख्रा पालन गर्न सक्ने भएपछि उनीहरुकै माँग वमोजिम बाख्रा वितरण गरिएको जानकारी दिनुहुदै यसले आयआर्जनसंगै परिवारको आर्थिक समस्यमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बाख्रा वितरण कार्यक्रममा जलेश्वर नगरपालिका वडानं. ८ का महिला सदस्य देवनी देवी मण्डलले महिलाहरुलाई आयआर्जन गरी आत्मनिर्भर बन्न जरुरी रहेको बताउनुहुदै महिलाहरु आर्थिक रुपले अगाडी बढे समाजको उन्नती हुन सक्ने आफ्नो विश्वास रहेको बताउनुभयो ।
कार्यक्रममा समृद्धिका आलोक कर्णले विगतमा आफुहरुले संस्थामा आवद्ध महिलाहरुलाई आयआर्जनको लागि के गर्दा राम्रो हुन्छ भनेर सोध्दा उहाँहरुले आफुहरु साक्षर मात्रै भएको र बाख्रा पालन, घाँस दाउरा सोह्रने काम जानेकोले सोही अनुसार नै उपलब्ध गराउन माँग गर्नुभए वमोजिम बाख्रा उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँले पुजी पनि हुने र आयआर्जन समेत हुन सक्ने भएकोले बाख्रा उपलब्ध गराइएको जानकारी दिनुभयो ।
उहाँले संस्थासंग सम्झौता भएवमोजिम ८ लाख ७५ हजार रुपैया बराबरको ७५ थान बाख्रा किनेर उपलब्ध गराइएको जानकारी दिनुहुदै आयआर्जन गरी सहकारीलाई समेत मजवुत बनाउन उहाँले आग्रह गर्नुभयो ।उहाँले यसक्षेत्रमा बाख्राको बजारीकरणमा समस्या नभएको वताउनुहुदै थप कुनै समस्या भए परियोजना समन्वय, सहकार्य गर्न तयार रहेको बताउनुहुदै महिलाहरुलाई आयआर्जनमा ध्यान दिन र सहकारीका सदस्यहरुलाई निरन्तर सम्पर्कमा रहेर सहयोग र सहकार्य गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा स्थानीय महिलाहरुले आफुहरुको माँग वमोजिम नै बाख्रा वितरण गरिएकोमो खुशी व्यक्त गर्नुहुदै व्यवसायिक बाख्रा पालनको लागि पनि तालिमहरु आयोजना गर्न सहकारीलाई आग्रह गर्नुभएको थियो ।