जीवनराज दाहाल
सामाजिक सञ्जालमा पछिल्लो समय आफ्ना नयाँ तस्बिरलाई ८० तथा ९० को दशकको पुरानो शैलीमा रूपान्तरण गरेर पोस्ट गर्ने ट्रेन्ड लोकप्रिय बन्दै गएको छ । पुरानो फिल्मी शैली, रेट्रो लुक, पुराना कार–बाइक तथा गाउँघरको वातावरणसहित तयार गरिएका यस्ता तस्बिरले सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेका छन् ।



यस्ता तस्बिर बनाउन महँगो क्यामेरा वा फोटो स्टुडियो आवश्यक पर्दैन । ChatGPT को सहयोगमा स्मार्टफोनबाटै आफूले चाहेको शैलीमा फोटो तयार गर्न सकिन्छ ।
कसरी बनाउने रेट्रो फोटो ?
सबैभन्दा पहिले अनुहार स्पष्ट देखिने राम्रो फोटो मोबाइलमा तयार राख्नुहोस् । त्यसपछि मोबाइलमा ChatGPT एप खोलेर आफ्नो फोटो अपलोड गर्नुहोस् ।
फोटो अपलोड गरेपछि आफूलाई चाहिएको शैली नेपाली भाषामै लेखेर निर्देशन दिन सकिन्छ । चाहेमा माइक्रोफोन प्रयोग गरेर बोलेर पनि निर्देशन दिन सकिन्छ ।
उदाहरणका लागि यस्तो निर्देशन दिन सकिन्छ :
“मेरो फोटोलाई ८० को दशकको पुरानो फिल्मी शैलीमा रूपान्तरण गरिदिनुहोस् । पुरानो टाटा कारको छेउमा उभिएको, स्टाइलिस चस्मा लगाएको, फिल्मको हिरो जस्तो लुक र एचडी क्वालिटीको फोटो बनाइदिनुहोस् ।”
त्यस्तै पुरानो बाइक र गाउँको वातावरण चाहिएको अवस्थामा यस्तो निर्देशन दिन सकिन्छ :
“मेरो फोटोमा पुरानो यामाहा बाइक राखिदिनुहोस् । ब्याकग्राउन्डमा पुराना झुप्रा घरहरू देखिने गरी ८०–९० को दशकको गाउँले वातावरण बनाइदिनुहोस् । स्टाइलिस चस्मासहित फिल्मको हिरो जस्तो रेट्रो लुकमा एचडी फोटो तयार गर्नुहोस् ।”
निर्देशन पठाएपछि ChatGPT ले सोहीअनुसार फोटो तयार गर्छ । आफ्नो आवश्यकता अनुसार पोशाक, गाडी, बाइक, घर, सडक, प्रकाश तथा पुरानो फिल्मको रंगशैलीसमेत उल्लेख गर्न सकिन्छ ।
मनपरेको फोटो जस्तै बनाउन सकिने
आफूलाई कस्तो फोटो बनाउने भन्ने आइडिया छैन भने सामाजिक सञ्जालमा रहेका रेट्रो फोटोबाट पनि प्रेरणा लिन सकिन्छ । उदाहरणका लागि Instagram मा “80s photos” वा “90s vintage photos” खोजेर आफूलाई मनपरेको शैलीको नमुना हेर्न सकिन्छ ।
मनपरेको रेफरेन्स फोटो सुरक्षित गरी आफ्नो फोटोसँगै ChatGPT मा अपलोड गरेर “पहिलो फोटोको शैली र वातावरणजस्तै मेरो दोस्रो फोटो बनाइदिनुहोस्” भनेर निर्देशन दिन सकिन्छ ।
यसरी रेफरेन्स फोटोको शैलीलाई आधार बनाएर आफ्नै अनुहार र पहिचान कायम राख्दै फरक र आकर्षक रेट्रो लुक तयार गर्न सकिन्छ ।
तयार फोटो मोबाइलमै सेभ गर्न सकिने
फोटो तयार भएपछि त्यसलाई ठूलो बनाएर माथि देखिने Download विकल्पमा थिच्दा मोबाइलको ग्यालरीमा सुरक्षित गर्न सकिन्छ । त्यसपछि फेसबुक, Instagram, TikTok लगायतका सामाजिक सञ्जालमा पोस्ट गर्न सकिन्छ ।
यसरी सामान्य मोबाइल फोटोमै एआईको प्रयोग गरी पुरानो समयको फिल्मी वातावरण, फेसन र जीवनशैली झल्किने आकर्षक ८०–९० दशकको रेट्रो तस्बिर बनाउन सकिन्छ । पछिल्लो समय सामाजिक सञ्जालमा बढ्दै गएको यो प्रविधिले नयाँ पुस्तालाई पुरानो पुस्ताको फोटो शैलीसमेत डिजिटल रूपमा अनुभव गर्ने अवसर दिएको छ ।




