-अनिल कुमार कर्ण
प्रचलित मान्यता, विश्वास र बुझाइलाई हामी प्रायः सत्य ठान्ने गर्छौँ । यस्ता स्थापित धारणाप्रति समाजको स्वीकारोक्ति गहिरो र अभेद्य हुन्छ । तर, त्यही धारणालाई समाचारको विषय बनाउँदा पत्रकारले कहिलेकाहीँ आफूले सत्य ठान्दै आएको विश्वासमाथि नै प्रश्न उठाउनुपर्ने हुन्छ । अर्थात्, आफ्नै विश्वासलाई पनि संदिग्ध बनाउने जोखिम लिनुपर्ने हुन्छ ।



यस्तो अवस्थामा आफूले जानेका कुरा गलत वा अपूर्ण हुनसक्छ भन्ने सम्भावनाले पत्रकारलाई आफ्नै विश्वासमाथि पुनर्विचार गर्न बाध्य तुल्याउँछ । यो त्यही एउटा समाचारकथा बुन्ने यात्रा हो– धारणाप्रति सन्देहदेखि प्रमाण र पुष्टिसम्मको । जहाँ मैले अरूको विश्वासमाथि मात्र प्रश्न उठाएको थिइनँ, आफ्नै विश्वासलाई पनि प्रश्नको कठघरामा उभ्याएको थिएँ ।
सानैदेखि मलाई सामान्यज्ञानमा रुचि थियो । जनकपुरमा हुने सामान्यज्ञानका प्रतियोगिताहरूमा सहभागी हुन्थेँ । त्यतिबेला बारम्बार सोधिने एउटा प्रश्न थियो– ‘नेपालको सबैभन्दा होचो सतह कुन जिल्लाको कुन ठाउँमा छ र त्यो समुद्री सतहभन्दा कति उचाइमा छ ?’ उत्तर एउटै हुन्थ्यो– ‘झापाको केचनाकलन ।’
सामान्यज्ञानका किताबमा त्यही लेखिएको थियो । शिक्षकहरूले त्यही पढाउँथे र प्रतियोगितामा त्यही उत्तर सही मानिन्थ्यो । त्यसैले केचनाकलन नेपालको सबैभन्दा होचो स्थान हो भन्ने कुरा स्थापित तथ्यजस्तै थियो । त्यतिबेलाको प्रचलित विवरणअनुसार यसको उचाइ समुद्री सतहबाट करिब ७० मिटर थियो । अहिलेसम्म उपलब्ध प्राविधिक नक्सामध्ये टोपोसिट नम्बर ‘२६८८०९सी’ मा कचन कवल क्षेत्रको उचाइ ६९ मिटर देखिन्छ । अहिले त्यस ठाउँको प्रचलित नाम कचन कवल हो । तर, मेरो स्मृतिमा त्यो ‘केचनाकलन’ नै हो ।
पत्रकारितामा आएपछि मेरा गुरु तथा अग्रजहरू रामकृष्ण रेग्मी, ध्रुवहरि अधिकारी, पी. खरेल र आनन्दराम आचार्यबाट एउटा कुरा सिकेँ– स्थापित धारणा आफैँमा प्रमाण होइन । धेरैले एउटै कुरा दोहोर्याउँदैमा त्यो सत्य हुँदैन । पत्रकारले प्रश्न गर्नुपर्छ, खोज्नुपर्छ र प्रमाणित गर्नुपर्छ । सायद त्यही सिकाइ थियो, जसले धेरै वर्षपछि बाल्यकालदेखि सुन्दै आएको एउटा उत्तरमाथि प्रश्न गर्न लगायो ।
२०५४ सालतिरको कुरा हो । म ‘गोरखापत्र’को महोत्तरी समाचारदाता थिएँ । महोत्तरी सदरमुकाम जलेश्वर डुबानमा परेको थियो । कतिपय ठाउँमा मानिसहरूलाई एउटा खाटमाथि अर्को खाट राखेर बस्नुपर्ने अवस्था थियो । पश्चिमतिर रातो नदीको रानीरतवारा बाँध (स्थानीय रूपमा छर्की वा ओली बाँध भनिने) भत्किएको थियो । पूर्वतिरको बिग्ही नदी पनि उर्लिएको थियो । जलेश्वरसँगै दक्षिणतिरका बस्ती डुबानमा परेका थिए ।
बाँध किन भत्कियो भन्ने समाचार बनाउन म जिल्ला सिँचाइ कार्यालय पुगेँ । कार्यालय अगाडिको चिया पसलमा डिभिजनल इन्जिनियर दिलीप कार्की, इन्जिनियर रत्नेश्वरलाल कर्णलगायत प्राविधिकहरू नक्सा हेरेर बसिरहेका थिए । म पनि त्यहीँ पुगेँ । जनकपुर–जलेश्वर–भिट्ठामोड सडक त्यतिबेला पनि यस क्षेत्रको महत्त्वपूर्ण सडक थियो । अहिलेको सडक वर्गीकरणमा यो राष्ट्रिय राजमार्ग एनएच–१३ का रूपमा रहेको छ ।
तर, मेरो ध्यान त्यतिबेला सडकको नाम वा नम्बरमा भन्दा बाढी तथा जलमग्न हुनुका कारणसँगै नक्सामा देखाइएका भू–उचाइका विवरणमा बढी तानियो ।
मैले बाँध किन भत्कियो भनेर सोधेँ । कुरा भारी वर्षामा मात्र रोकिएन । चुरे क्षेत्रमा भइरहेको क्षय र भूक्षयले नदीको बहाव तथा गेग्रानमा पार्ने असरबारे प्राविधिकहरूले बताए । मैले फेरि सोधेँ, ‘जलेश्वरको पानी त एक–दुई दिनमै घट्छ, दक्षिण–पूर्वतिरका बस्तीमा किन लामो समय जमिरहन्छ ?’
इन्जिनियर कर्णले भने, ‘त्यो क्षेत्र होचो छ, त्यसैले पानी निकास हुन समय लाग्छ ।’
जलजमावको अन्तर्निहित कारणबारे सुनेपछि मेरो ध्यान फेरि नक्सातिर तानियो । एउटा ठाउँमा मेरो आँखा अडियो– मुसहरनियाँ । त्यतिबेला मैले हेरेको प्राविधिक नक्सामा मुसहरनियाँको उचाइ कम देखिएको थियो । अहिले उपलब्ध प्राविधिक अभिलेखसँग तुलना गर्दा टोपोसिट नम्बर ‘२६८५०८सी’ मा मुसहरनियाँको उचाइ ५९ मिटर देखिन्छ । त्यसैगरी, कचन कवल क्षेत्रको टोपोसिट नम्बर ‘२६८८०९सी’ मा उचाइ ६९ मिटर देखिन्छ ।
मेरो बाल्यकालदेखि सामान्यज्ञानमा स्थापित केचनाकलनको उचाइ करिब ७० मिटर भनिँदै आएको थियो । त्यसैले मनमा प्रश्न उठ्नु स्वाभाविक थियो– ‘केचनाकलनभन्दा तल देखिएको यो भूभाग नै नेपालको सबैभन्दा होचो स्थान होइन र ?’
मैले इन्जिनियर कर्णलाई सोधेँ, ‘मुसहरनियाँ नेपालमै सबैभन्दा होचो सतह हो ?’ उहाँले तत्काल निष्कर्ष दिनुभएन । नक्साले त्यस्तै देखाए पनि अन्तिम रूपमा पुष्टि गर्नुपर्ने बताउनुभयो । त्यही बिन्दुबाट मेरो ध्यान समाचारभन्दा अनुसन्धानतर्फ मोडियो ।
पहिले हामीले देशभरका सम्भावित होचा भूभाग तुलना गर्न मिल्ने अर्को प्राविधिक नक्सा खोज्यौँ । केचनाकलनसँग तुलना गर्यौँ । अरू सम्भावित स्थान पनि हेर्यौँ । हामीले हेरेका प्राविधिक नक्सामा मुसहरनियाँभन्दा तल अर्को स्थान फेला परेन । तर, मलाई यति मात्र पर्याप्त लागेन । सिँचाइसम्बन्धी अध्ययन प्रतिवेदनहरू हेरेँ । ती प्रतिवेदनले जलेश्वर र आसपासका भूभाग होचा तथा डुबानप्रवण भएको देखाउँथे । तर, मुसहरनियाँलाई नै नेपालको सबैभन्दा होचो स्थान भनेर स्पष्ट रूपमा लेखेका थिएनन् ।
अब मैले प्रचलित तथ्यको आधार खोज्न थालेँ । सामान्यज्ञानका विभिन्न किताब किनेँ । सबैजसोमा उत्तर उही थियो– ‘झापाको कचन कवल’ ।
कतिपय किताबमा प्रकाशकका ल्यान्डलाइन नम्बर थिए । फोन गरेर सोधेँ, ‘यो तथ्यको स्रोत के हो ? लेखकले कुन आधार प्रयोग गर्नुभएको हो ? सरकारी वा प्राविधिक प्रमाण छ ?’ सन्तोषजनक उत्तर पाइएन । त्यसपछि मैले बुझ्न खोजेँ– नक्सामा देखिएको होचोपन मुसहरनियाँवासीको वास्तविक जीवनमा पनि देखिन्छ कि देखिँदैन ? मलाई मुसहरनियाँमा बर्खामा पानी जम्ने कुरा पहिलेदेखि थाहा थियो ।
रेडक्रसले बाढीका बेला स्थानीयलाई आश्रय दिन तथा अन्न र राहत सामग्री सुरक्षित राख्न त्यहाँ गोदामजस्तो संरचना बनाएको थियो । म पहिले त्यहाँ पुगिसकेको थिएँ । धनुषा रेडक्रसका वरिष्ठ पदाधिकारी नरेश सिंहसँग कुरा गरेँ । उहाँले बर्खामा स्थानीयले भोग्ने डुबान, खेतीपातीको क्षति र आवतजावतको कठिनाइबारे बताउनुभयो । अब नक्साको तथ्य जमिनको अनुभवसँग जोडिँदै थियो ।
त्यतिबेला जिल्ला विकास समितिका पूर्वसभापति रामसरोज यादवको घर पनि तत्कालीन मुखियापट्टी मुसहरनियाँ गाविसमा थियो । मैले उहाँलाई सोधेँ, ‘तपाईँको गाविस त देशकै सबैभन्दा होचो सतहमा रहेछ, होइन ?’ उहाँले ‘हो’ भन्नुभयो ।
मैले सामान्यज्ञानका किताबमा केचनाकलन लेखिएको कुरा सुनाएँ । उहाँले सहजै भन्नुभयो, ‘लेख्नेहरूलाई कसले रोक्न सक्छ ?’ मैले प्रमाण मागेँ । उहाँले गाउँमा गएर मानिसहरूसँग कुरा गर्न सुझाउनुभयो ।
मुसहरनियाँमा पुगेर स्थानीयसँग कुरा गरेँ । बर्खामा पानी जम्ने, खेत डुब्ने, बाटो अवरुद्ध हुने र लामो समयसम्म बस्ती टापुजस्तै बन्ने उनीहरूको अनुभव सुनेँ । तर, स्थानीय अनुभवले मात्र राष्ट्रिय भौगोलिक दाबी प्रमाणित गर्दैनथ्यो । त्यसपछि तत्कालीन धनुषा जिल्ला विकास समितिका सभापति रामचरित्र साहसँग कुरा गरेँ । उहाँले मेरो कुरा सुनिसकेपछि मुसहरनियाँलाई नेपालको सबैभन्दा होचो स्थानका रूपमा दस्तावेजीकरण गर्ने प्रक्रिया अघि बढाउने कुरा गर्नुभयो । ‘गोरखापत्र’मा समाचार छापिएपछि उहाँले यो प्रक्रिया अघि बढाउनु पनि भयो ।
मैले सिँचाइ विभागका तत्कालीन महानिर्देशकसँग पनि कुरा गरेँ । उहाँले मुसहरनियाँ नेपालको सबैभन्दा होचो भूभाग भएको पुष्टि गर्नुभयो । म त्यतिमै रोकिइनँ । सडक विभागका तत्कालीन महानिर्देशकसँग पनि कुरा गरेँ । एउटै प्राविधिक निकायको भनाइमा निर्भर नहुन अर्को सम्बन्धित सरकारी निकायबाट क्रसचेक गर्न खोजेको थिएँ । आजको भाषामा भन्दा त्यो पुनर्पुष्टि थियो– एउटा दाबीलाई अर्को सम्बन्धित सरकारी निकायबाट स्वतन्त्र रूपमा जाँच्ने अभ्यास ।
त्यतिबेला ‘गोरखापत्र’का लागि समाचार तयार पार्दै गर्दा एउटा दाबीलाई सकेसम्म स्वतन्त्र स्रोतबाट जाँच्ने अभ्यास बलियो थियो । अब मलाई समाचार लेख्न पर्याप्त आधार बनेको महसुस भयो । तर, अर्को प्रश्न बाँकी थियो– महोत्तरीको समाचारदाता भएर धनुषाको समाचार लेख्ने ? म ‘गोरखापत्र’को महोत्तरी समाचारदाता थिएँ । मुखियापट्टी मुसहरनियाँ धनुषामा पर्थ्यो ।
त्यतिबेला शब्द वा लाइनका आधारमा पारिश्रमिक पाउने शैलीमा समाचार तन्काउने प्रवृत्ति पनि थियो । जनकपुरधामको समाचारमा ‘अत्यन्त ऐतिहासिक, धार्मिक तथा पवित्र नगरी…’ जस्ता विशेषण थपेर समाचार लम्ब्याउने चलन मलाई मन पर्दैनथ्यो । त्यसैगरी आफ्नो कार्यक्षेत्र रहेको जिल्लाको सीमाभन्दा बाहिरको विषयलाई जबर्जस्ती जोडेर समाचार बनाउनु पनि उचित लागेन ।
यो मेरो कार्यक्षेत्र रहेको जिल्लाको समाचार थिएन । तर, यो समाचार त थियो । त्यसैले मैले लेखेँ । ‘गोरखापत्र’ले समाचारलाई छोट्यायो । मैले संकलन गरेका धेरै विवरण समाचारमा अटेनन् । तर एउटा कुरा प्रकाशित भयो– ‘मुखियापट्टी मुसहरनियाँ नेपालको सबैभन्दा होचो स्थान हो ।’
मलाई त्यो घटनाका धेरै क्रम अझै मेरो स्मृतिमा छन् । कुन कार्यालय पुगेँ, कसलाई भेटेँ, नक्सामा के देखेँ, कसलाई के सोधेँ ? ती जम्मै मेरा अतुल्य स्मृति हुन् । समयसँगै स्मृतिमा कुनै कुरा छुट्न वा क्रम तलमाथि हुन सक्छ । नक्सा हेरेँ । इन्जिनियरसँग सोधेँ । अर्को प्राविधिक नक्साबाट तुलना गरेँ । अध्ययन प्रतिवेदन खोजेँ । सामान्यज्ञानका किताब जाँचेँ । प्रकाशकसँग स्रोत सोधेँ । रेडक्रसका अधिकारी र स्थानीयसँग कुरा गरेँ । तत्कालीन जिल्ला विकास समितिका पूर्व तथा वर्तमान पदाधिकारीसँग कुरा गरेँ । सिँचाइ विभागका महानिर्देशकबाट पुष्टि गराएँ । सडक विभागका महानिर्देशकसँग पुनर्पुष्टि गराएँ ।
यी सबै प्रमाण खोज्ने प्रक्रिया थिए । धारणाले मलाई घटनासम्म पुर्याएको थियो, प्रमाणले समाचारसम्म ।
अहिले नेपाली पत्रकारितामा ‘भेरिफिकेसन’, ‘क्रसचेक’ र ‘सोर्स ट्रयांगुलेसन’ सामान्य शब्द भएका छन् । त्यतिबेला यी शब्दावली अहिलेको जस्तो प्रचलित थिएनन् होला, तर अभ्यास भने त्यही थियो । तर, इन्टरनेट थिएन । डिजिटल डाटाबेस थिएन । एउटा तथ्य जाँच्न किताब किन्नुपर्थ्यो, अधिकारी खोज्न कार्यालय पुग्नुपर्थ्यो, गाउँको अवस्था बुझ्न गाउँमै जानुपर्थ्यो र एउटा फोन गर्न टेलिफोन बुथ खोज्नुपर्थ्यो । तर, एउटा कुरा थियो– प्रश्न गर्ने बानी ।
आज सूचना पाउन कठिन छैन । एउटा घटना भएको केही सेकेन्डमै सामाजिक सञ्जालमा सयौँ पोस्ट आउँछन् । फोटो, भिडियो, प्रत्यक्षदर्शीका दाबी र आधिकारिक सूचनाबीच अर्को सूचना थपिन्छ । कहिलेकाहीँ घटनाभन्दा त्यसबारे फैलिएको सूचना नै ठूलो घटना बनिसकेको हुन्छ । यस्तो समयमा पत्रकारको काम सूचना थप्नु मात्र होइन, विश्वसनीय सूचना छुट्याउनु हो ।
प्रविधिले समाचारको गति बढाएको छ, तर सत्यापनको आवश्यकता घटाएको छैन, बरु बढाएको छ । ‘एआई’, ‘डिपफेक’, पुराना भिडियोलाई नयाँ घटनासँग जोडेर फैलाउने प्रवृत्ति, बनावटी उद्धरण र संशोधित तस्बिरले पत्रकारका अगाडि नयाँ चुनौती थपेका छन् । एउटा गलत सूचना केही मिनेटमै हजारौँ मानिससम्म पुग्न सक्छ । त्यसलाई सच्याउन धेरै समय लाग्न सक्छ । सार्वजनिक विश्वास नै निमोठिने गरी हुने यस्ता कृत्य सच्याउन अझ लामो समय लाग्न सक्छ ।
त्यसैले पत्रकारको मूल्य अब उसले कति छिटो सूचना दिन्छ भन्नेमा मात्र छैन, उसले कति शुद्ध र विश्वसनीय सूचना दिन्छ भन्नेमा छ ।
आज फर्केर हेर्दा, मुखियापट्टी मुसहरनियाँको त्यो समाचार एउटा भौगोलिक तथ्य खोतलिएको कथा मात्र लाग्दैन । बाल्यकालदेखि सामान्यज्ञानका किताब, कक्षाकोठा र प्रतियोगितामा एउटै उत्तरका रूपमा दोहोरिँदै आएको प्रश्नको उत्तरमाथि त्यतिबेला प्रश्न उठेको थियो । नेपालको सबैभन्दा होचो स्थान भनेर ‘केचनाकलन’को नाम लिने प्रचलित उत्तरलाई मुखियापट्टी मुसहरनियाँको तथ्यले चुनौती दियो ।
त्यो परिवर्तन कसैको भनाइ र बुझाइलाई अस्वीकार गरेर भएको थिएन । एउटा प्रश्नबाट सुरु भएको खोज नक्सा, कागजात, स्थानीय अनुभव र सम्बन्धित निकायको पुष्टिसम्म पुगेपछि मात्र त्यसले समाचारको रूप लिएको थियो ।
त्यसैले मेरा लागि त्यो समाचारको सबैभन्दा ठूलो उपलब्धि मुसहरनियाँको नाम अगाडि आउनु मात्र होइन, एउटा सामान्यज्ञानको उत्तर बदलिन सक्ने गरी पत्रकारिताले प्रश्नको शक्ति देखाउनु हो । त्यस घटनाले मलाई पत्रकारिताको मूल्यबारे एउटा गहिरो कुरा सिकायो– पत्रकारिता प्रचलित उत्तर दोहोर्याउने काम मात्र होइन; आवश्यक पर्दा त्यस उत्तरमाथि प्रश्न गर्ने र प्रश्नको उत्तर प्रमाणबाट खोज्ने अभ्यास पनि हो । जहाँ अरूले अन्तिम उत्तर देखिरहेका हुन्छन्, त्यहाँ पत्रकारले अर्को प्रश्न देख्न सक्नुपर्छ ।-रातोपाटी




