जनकपुरधाम : महोत्तरीको पिपरा गाउँपालिकाका झा दम्पती हत्याकाण्डमा प्रहरीको फितलो अनुसन्धानले गर्दा निर्दोष व्यक्ति फसेको आरोप लगाइएको छ ।
२०७७ फागुन ११ गते घरबाटै बेपत्ता भएका पिपरा गाउँपालिका ५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवी झाको शव चैत १२ गते पिपरा—२ अतरातमा पुरिएको अवस्थामा फेला परेको थियो ।
वृद्ध दम्पतीको शव भेटिएपछि प्रहरीले सात जनालाई पक्राउ गरी अनुसन्धान थालेको थियो । हत्या गर्ने, शव लुकाउने र थप योजनामा संलग्न रहेको भन्दै जिल्ला अदालतको निर्णयलाई सदर गर्दै उच्च अदालतले पिपरा—५ का कैलाश झा, सोही ठाउँका ५२ वर्षीय रामबाबु यादव र भारत बिहारको मधुवनी घर भएका ५० वर्षीय हरेन्द्र ठाकुरलाई पुर्पक्षका लागि थुना मै राखेर मुद्दा चलाउन आदेश दिएको छ।
तर, हत्याकाण्डमा आरोपित भनिएकाहरु मध्ये बिहारको मधुवनी घर भएका ५० वर्षीय हरेन्द्र ठाकुरको परिवारले ठाकुरलाई घटनामा जवरजस्ती प्रहरीले फसाउन खोजेको आरोप लगाएको छ ।
ठाकुर जग्गा व्यापारी हुन् । उनले महोत्तरीको बिन्हीमा करिब १५ बिघा जग्गा प्लटिंग गरि राजर्षी नगर नै बनाएका छन् । जग्गा कै विषयलाई लिएर विवाद हुँदा उनले मुसाफिर दम्पतीको हत्या गराएको प्रहरीको अनुसन्धानमा भनिएको छ ।
ठाकुरकी पत्नी रेणु ठाकुर र छोरा केशव कुमार ठाकुरले सोमबार हत्याको मुख्य कारण भनिएको मृतक मुसाफिर झाको विवादित जग्गा भएकै ठाउँमा पत्रकार सम्मेलनको आयोजना गरेर हरेन्द्र निर्दोष रहेको दाबी गरे ।
‘जुन जग्गा खरिद गर्न मुसाफिर झालाई मेरो बुवाले दबाव दिएका थिए भनि प्रचार प्रसार गरिएको छ त्यो जग्गा किन्नु बुवाका लागि आवश्यक नै थिएन,’ आरोपित हरेन्द्र ठाकुरका छोरा केशवले भने, ‘घडेरीको जग्गासम्म पुग्न बाटोमा झाको ४ कठ्ठा १३ धुर १२ कन्मा जग्गा पर्न आएको र सोही बेच्न नमानेपछि मेरा बुवाले उनको हत्या गराए भनि भ्रामक प्रचारबाजी भएको छ । सर्वप्रथम त यो घडेरी नै होइन पोखरी हो र यहाँसम्म पुग्नका लागि झाको मात्रै नभई अन्य ५ जनाको खेत किन्दा मात्रै बाटो निस्कने हो,त्यसैले प्रहरीले बिना अनुसन्धान उनलाई फसाएको प्रष्ट हुन्छ ।’
मृतक दम्पती कै नातामा भतिजो पर्ने सोही ठाउँका कैलाश झाले मुसाफिर र गीताको हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । झाको घरमा हत्या गरी शव एक महिनासम्म लुकाइएको थियो र पछि हत्यामा संलग्नता खुल्ने डरले शव अन्यत्र सारेपछि उनी पक्राउ परेका थिए ।
कैलाश झाको घरबाट प्रहरीले शव लुकाएर राखेको जस्तापाताले बनेको ट्रंक र अन्य प्रमाणहरु बरामद गरेको थियो ।
कैलाश झाले प्रहरीलाई दिएको बयानमा आफूलाई जग्गा व्यापारी हरेन्द्रले मुसाफिरको जग्गा बेच्न लगायो भने २ करोड रुपैंया दिने भनि प्रलोभन दिएको उल्लेख छ ।
ठाकुर कै प्रलोभनमा आएर आफूले मुसाफिर झाको हत्या गर्ने निधो गरेको र त्यसका लागि उनको जेठी बुहारी अंशु झालाई नशा लाग्ने औषधि किनेर एकदिन अगाडि नै दिएको कैलाशले प्रहरीलाई बयान दिएको छ। अशुंले सो औषधि खानामा मिलाएर परिवारको सबैलाई खुवाएकी थिइन र पछि मुसाफिर र गीता बेहोस् हुँदा दुवैलाई कैलाशले उठाएर आफ्नो घर लगि हत्या गरेको बयानमा भनिएको छ ।
कैलाशको बयानबाट हत्याको साझेदार मृतकको बुहारी अंशु झा देखिए पनि जिल्ला अदालत महोत्तरीले उनलाई ५० हजार धरौटीमा छाडिसकेको छ । त्यसैगरी शवसंगै एक महिना एउटै घरमा बसेका आरोपित कैलाश झाकी आमा तारादेवीलाई पनि दुई लाख धरौटीमा छाडिएको छ ।
अन्य आरोपीहरु सुरेन्द्र यादव र राजेन्द्र यादवलाई जनही पाँच लाख र बब्लु झालाई दुई लाख धरौटीमा ४ पुसमा न्यायाधीशद्धय शकुन्तला घिमिरे र रमेश ढकालको संयुक्त इजलासले छाडेको छ ।
‘प्रहरीले घटनामा सुक्ष्म अनुसन्धान नै नगरि सबुत प्रमाणलाई नजरअन्दाज गर्दै प्रतिवादी हरेन्द्र ठाकुरलाई आरोपित बनाएको छ,’ पत्रकार सम्मेलनमा बोल्दै अधिवक्ता देवेन्द्र ठाकुर निरालाले भने, ‘हत्याका मुख्य अभियुक्तले दिएको बयानलाई नै आधार मान्ने हो भने अनुसन्धान अझ सशक्त हुनु पर्थ्यो । तर, प्रहरी फाइल बन्द गर्न तर्फ लागेको छ ।’




