सुजाता राई
विराटनगर–११ स्थित जनपथ विद्यालयको प्राङ्गणमा बालाजी डोजोको कराँते ब्ल्याक बेल्ट कार्यक्रमको अन्तिम समापन गरिएको छ।
बुधबार आयोजित कार्यक्रममा एक जना पुरुष नवप्रतिभा खेलाडी र तीन जना बालिका गरी चार जना खेलाडी सहभागी थिए।
कार्यक्रममा ब्ल्याक बेल्ट प्राप्त गर्ने खेलाडीका अभिभावकसँगै डोजोका अन्य प्रशिक्षार्थी खेलाडीहरु पनि सहभागिता भए।
डोजोकी प्रशिक्षक मेनुका ठाकुरले ब्ल्याक बेल्टका विद्यार्थीलाई साथमा लिएर पूजा गरी टीका तथा खादामाला लगाइदिए। त्यसपछि केक काटेर प्रसाद ग्रहण गर्दै खेलाडीलाई प्रमाणपत्र प्रदान गरी बिदाइ गरिएको थियो।




ब्ल्याक बेल्ट प्राप्त गरेपछि खेलाडीको मुहारमा खुसी देखिएको थियो भने अभिभावकले आफ्ना छोराछोरीलाई यो अवस्थासम्म ल्याउन गरेको संघर्ष स्मरण गर्दै केही धारण राखेर प्रशिक्षक ठाकुरप्रति धन्यवाद व्यक्त गरेका थिए।
समापनका क्रममा प्रशिक्षक ठाकुरले खेलाडीलाई पढाइसँगै खेलकुदलाई पनि प्राथमिकता दिँदै अघि बढ्न हौसला दिएकी थिइन्। उनले खेलाडीका अभिभावकलाई समेत सहयोगका लागि धन्यवाद व्यक्त गरिन्।





