सुजाता राई
काठमाडौँ । कथाकार गङ्गा सुवेदीको नविनतम् कथासङ्ग्रह ‘दृष्टिबोध’ लोकार्पित भएको छ ।
राजधानीमा विहिबार आयोजित कार्यक्रममा प्रा.डा.दयाराम श्रेष्ठ,श्रीओम श्रेष्ठ रोदन,प्राडा लक्ष्मणप्रसाद गौतम,प्राडा भरतकुमार भट्टराई,पवन आलोक र कथाकार सुवेदीले उक्त कथासङ्ग्रह लोकार्पण गरे ।
नेपाल स्रष्टा समाजको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.श्रेष्ठले सुवेदी सामाजिक यथार्थवादी कथाकार भएको बताए । उनले अगाडि भने, ‘प्राविधिक रुपले पनि सुवेदीका कथाहरु वलिष्ठ छन् । उनका कथाका कथावस्तु र घट्नाको बीचमा हुने क्रमागत सिलसिला राम्रोसँग मिलाएर बुनोट भएका छन् ।’
अर्का वक्ता प्राडा गौतमले सुवेदीको व्यक्तित्व संस्था जतिकै माथि उठेको भन्दै नारी भोगाइ र अनुभूति भोक्ता स्रष्टा भएर अनुभूतिको गहिराइमा पुगेर लेख्न सक्ने कथाकारको रुपमा उनको चर्चा गरे ।
कृतिमाथि चर्चा गर्दै प्राडा भट्टराईले कलाकार र कथाकारको उचित संयोजन कथामा देखिएको बताए । कृतिभित्र २४ वटा कथा रहेको भन्दै उनले प्रायःकथाहरु नारीवादी दृष्टिचेतले लेखिएको बताए । नारीको भित्री ह्रदयहरु केलाएर कथा बनेको छ । पितृसत्तात्मक समाजबाट नारीमाथि हुने गरेका प्रताडनाहरु कथाका विषय बनेका छन् । कतिपय कथाहरु प्रतिकात्मक रहेको पनि प्राडा भट्टराईले बताए । साना कुरा तर गहन र गम्भीर बनाएर कथानकता बुन्न सक्नु कथाकारको विशेषता भएको उनले बताए ।
अग्रज साहित्यकार पवन आलोक तथा समाजका कोशी प्रदेश अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले शुभकामना मन्तब्य राखे ।
कथाकार सुवेदीले आफुले लेख्ने सबै कथा यथार्थको धरातलमा उभिएर लेखेको बताइन । उनले भनिन्,’कथाको पात्रमा पसेर लेख्छु,पात्रको ठाउँमा रहेर लेख्छु । नेपालको पूर्वीभागदेखि पश्चिम हुँदै सिंगापूर,मलेशिया जाँदासम्मका अनुभवलाई कथाको रुप दिएको छु ।’
कार्यक्रमका समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा भएको थियो । महासचिव मधु पाठकले सञ्चालन गरेको कार्यक्रममा सचिव प्रदीप सापकोटाले स्वागत मन्तव्य राखे ।







