बर्दिबास – महोत्तरीको बर्दिबास सर्पदंशको हटस्पटका रूपमा परिचित छ । तर, सर्पदंशका बिरामीको उपचार हुने बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमै अहिले एन्टिभेनम छैन । अत्यावश्यक औषधि अभाव भएपछि सर्पदंशका बिरामीलाई उपचार नगरी जनकपुर रेफर गर्नुपर्ने अवस्था आएको छ ।
सर्पदंश उपचार केन्द्रले बुधबार सूचना जारी गर्दै एन्टिभेनम नभएको जनाउँदै उपचार गर्न नसकिने जानकारी गराएको हो । केन्द्रमा उपचारका लागि आउने बिरामीलाई अहिले जनकपुर पठाउने गरिएको केन्द्रका अध्यक्ष कृष्णप्रसाद देवकोटाले बताए ।



बर्दिबास र आसपासका क्षेत्रमा सर्पदंशका घटना भइरहने भए पनि उपचार केन्द्रमै एन्टिभेनम अभाव भएपछि स्थानीयस्तरमै तत्काल उपचार पाउने सुविधा प्रभावित भएको हो । सर्पले टोकेपछि विषको प्रभाव बढ्दै जाने अवस्थामा बिरामीलाई तत्काल उपचार आवश्यक पर्ने भएकाले एन्टिभेनम अभावले जोखिम थपिएको स्थानीय सत्यनारायण महतोले बताए ।
उनका अनुसार बर्दिबासबाट जनकपुरसम्म बिरामी लैजानुपर्ने भएपछि उपचार सुरु हुन लाग्ने समय बढ्ने र त्यसबीचमा बिरामीको अवस्था गम्भीर बन्न सक्ने जोखिम छ । विशेषगरी विषालु सर्पको टोकाइमा समयमै उपचार नपाउँदा ज्यानै जोखिममा पर्न सक्ने चिकित्सकहरू बताउँछन् ।




