काठमाडौँ- नेपाली कांग्रेसको संस्थापन इतर समूहले आसन्न १५ औँ महाधिवेशनको तयारीलाई तीव्रता दिँदै काठमाडौँ जिल्ला र मातहतका निर्वाचन क्षेत्रका लागि संयोजकहरू तोकेको छ।
शुक्रबार काठमाडौँको क्षेत्रपाटीस्थित पार्टी प्यालेसमा बसेको इतर समूहको भेलाले महाधिवेशन प्रक्रियालाई विधिसम्मत अघि बढाउने उद्देश्यका साथ जिल्ला र क्षेत्रीय संयोजकहरूको जिम्मेवारी बाँडफाँड गरेको हो।



केन्द्रीय प्रतिनिधि कल्याणी रिजालको उपस्थितिमा बसेको बैठकले नेता जयकृष्ण महर्जनलाई काठमाडौँ जिल्ला संयोजकको जिम्मेवारी सुम्पेको छ। महर्जन काठमाडौँ–९ का क्षेत्रीय सभापति हुन्।
बैठकले काठमाडौँका विभिन्न १० वटा निर्वाचन क्षेत्रमध्ये ९ वटा क्षेत्रमा संयोजक तोकेको छ।
जसअनुसार क्षेत्र नम्बर १ मा कुश ढकाल संयोजक तोकिएका छन् । उनी काठमाडौँ महानगर–२९ का वडा अध्यक्ष हुन्। क्षेत्र नम्बर २ मा अर्जुन पराजुली, क्षेत्र नम्बर ३ मा लालु लामा, क्षेत्र नम्बर ४ मा सन्तोष भण्डारी संयोजक तोकिएका छन् ।
क्षेत्र नम्बर ५ मा क्षेत्रीय सभापति श्यामकृष्ण खड्का, क्षेत्र नम्बर ६ मा क्षेत्रीय सभापति श्याम खड्गी, क्षेत्र नम्बर ७ मा मनहरि तिवारी, क्षेत्र नम्बर ८ मा टेवेन्द्ररत्न शाक्य र क्षेत्र नम्बर १० मा शैलेश मानन्धर संयोजक तोकिएका छन् ।
जिल्ला संयोजक बनेका जयकृष्ण महर्जन काठमाडौँ–९ का क्षेत्रीय सभापति रहेकाले सो क्षेत्रको क्षेत्रीय संयोजकको नाम भने केही समयपछि तय गरिने समूह्ले बताएको छ। नेता प्रकाशमान सिंहको सचिवालयले आजको भेलाले जिल्ला र क्षेत्रीय संयोजक तोकेको जानकारी दिएको हो । समूहले आगामी असोज १५ गते वडा अधिवेशन तोकेको छ।-रातोपाटी




