महोत्तरी – महोत्तरीका दुई गाउँका ११ घरमा चोरी भएको छ। जिल्लाको एकडारा गाउँपालिका–४ हलखोरीका पाँच घर तथा जलेश्वर नगरपालिका–६ बासोपट्टीका छ घरमा गएराति चोरी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी निरीक्षक विश्वम्भरप्रसाद साहका अनुसार एकडारा गाउँपालिका–४ हलखोरीका पञ्चु यादव, राजकुमार यादव, श्रीप्रसाद यादव, सुरेन्द्र राय र बेचन यादवको घरमा चोरी भएको हो। त्यस्तै, जलेश्वर नगरपालिका–६ बासोपट्टीमा एउटै परिवारका दाजुभाइका छ घरमा चोरी भएको उहाँले बताउनुभयो।



प्रहरीका अनुसार हलखोरीका पाँच घरबाट मात्रै ५० लाख रुपियाँभन्दा बढीको धनमाल चोरी भएको अनुमान गरिएको छ।
एकडारा गाउँपालिका–४ हलखोरी निवासी पञ्चु यादवको घरबाट आठ आना सुनको मंगलसूत्र, सुनका कानका झुम्का, दुई आना सुनको औँठी, १० तोला चाँदीको पायल र २० हजार रुपियाँ नगद चोरी भएको छ। त्यस्तै, राजकुमार यादवको घरबाट दुई तोला सुन चोरी भएको प्रहरी निरीक्षक साहले जानकारी दिनुभयो।
उहाँका अनुसार सुरेन्द्र रायको घरबाट २५ हजार रुपियाँ नगद र करिब २५० ग्राम चाँदीको हँसुली, श्रीप्रसाद यादवको घरबाट ५०० ग्राम चाँदीको हँसुली, १० तोला चाँदीको पायल र एक लाख रुपियाँ नगद तथा बेचन यादवको घरबाट ६० हजार रुपियाँ नगद चोरी भएको छ।
जलेश्वर नगरपालिका–६ बासोपट्टीमा चोरी भएका घरका सबै सदस्य काठमाडौँमा बस्ने गरेकाले ती घरबाट चोरी भएको धनमालको यकिन विवरण आउन नसकेको प्रहरी निरीक्षक साहले बताउनुभयो। उहाँले भन्नुभयो, “चोरी भएको समयमा ती घरमा परिवारका कुनै पनि सदस्य थिएनन्। घरधनीहरू घरमा नरहेको समयमा चोरी भएकाले के–के सामान चोरी भयो भन्नेबारे तत्काल यकिन विवरण प्राप्त हुन सकेको छैन।”
हलखोरीकी मिना देवीले घरमा चोरी भइरहँदा पनि आफूहरूले थाहा नपाएको बताउनुभयो। चोरहरूले घरका सदस्यले मेहनत गरेर जोडेको सुनचाँदीका गरगहना तथा नगदसमेत लगेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक साहले दुवै स्थानमा चोरीमा संलग्न व्यक्तिको पहिचान तथा खोजीका लागि प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।




