सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा दुई समूहबीच झडप हुँदा घाइते भएका निरज कुमार यादवको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज ३ गते साँझ करिब ५ः२५ बजे दुई यादव समूहबीच झडप भएको थियो। झडपका क्रममा देवानगञ्ज गाउँपालिका–१ का २४ वर्षीय निरज कुमार यादव घाइते भएका हुन्। उनको शरीरको पछाडिको भागमा चोट लागेको प्रहरीले जनाएको छ ।



घाइते यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा देवानगञ्ज गाउँपालिका–२ बस्ने १८ वर्षीय विष्णु कुमार यादव र सोही स्थानका २६ वर्षीय ‘लाली’ भन्ने जयकृष्ण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, घटनालाई लिएर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा गोली प्रहारबाट निरज यादव घाइते भएको र उनको मृत्यु भएको भन्ने भ्रामक समाचार तथा सूचना सम्प्रेषण भएको भन्दै प्रहरीले त्यसलाई तथ्यहीन जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाको यथार्थ विवरण बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ ।
प्रहरीका अनुसार घटनामा गोली प्रहार भएको पुष्टि भएको छैन। घटनाको वास्तविक कारण, संलग्न व्यक्तिहरू तथा झडपको अवस्थाबारे थप अनुसन्धान भइरहेको छ ।




