महोत्तरी- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार महोत्तरीको औरही नगरपालिकाका नौवटै वडामा नेपाली कांग्रेसको १५औँ वडाअधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट नौवटै वडामा सभापति सर्वसम्मत चयन हुनुभएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलकुमार यादवको प्रमुख आतिथ्य तथा मधेस प्रदेश कमिटी सदस्य नरेन्द्र यादव र औरही नगर सभापति योगेन्द्र यादवको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो। अधिवेशनमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।



अधिवेशनबाट वडा नं. १ मा सुजित यादव, वडा नं. २ मा नागेन्द्र साह, वडा नं. ३ मा लालकिशोर यादव, वडा नं. ४ मा रामपृत साह, वडा नं. ५ मा ब्रह्मदेव राय, वडा नं. ६ मा वीरेन्द्र यादव, वडा नं. ७ मा दिलीप यादव, वडा नं. ८ मा श्रीप्रसाद यादव र वडा नं. ९ मा महेन्द्र महतो सभापतिमा सर्वसम्मत चयन हुनुभएको छ।
अधिवेशनमा पार्टी संगठन सुदृढीकरण, लोकतान्त्रिक मूल्य–मान्यता, जनतामुखी राजनीति तथा आगामी संगठनात्मक रणनीतिका विषयमा छलफल भएको थियो। सहभागीहरूले पार्टी संगठनलाई वडा तथा टोल तहसम्म थप सुदृढ, व्यवस्थित र क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
प्रमुख अतिथि सुनिलकुमार यादवले कांग्रेसको संगठनलाई वडा तहदेखि नै बलियो बनाउनुपर्ने बताउनुभयो। उहाँले पार्टीको नीति, सिद्धान्त र लोकतान्त्रिक मूल्य–मान्यतालाई व्यवहारमा कार्यान्वयन गर्दै जनताको भावना र अपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो। पार्टीभित्र एकता, अनुशासन र सक्रियता कायम गर्दै संगठनलाई थप सुदृढ बनाउन सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
विशिष्ट अतिथि मधेस प्रदेश कमिटी सदस्य नरेन्द्र यादवले पार्टी संगठनलाई वडा तहदेखि नै सुदृढ र व्यवस्थित बनाउन अधिवेशनले महत्वपूर्ण आधार तयार गरेको बताउनुभयो। उहाँले पार्टीको नीति तथा सिद्धान्तअनुसार जनताका समस्या र अपेक्षालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो। नेता तथा कार्यकर्ताबीच एकता, सहकार्य र समन्वय कायम गर्दै संगठन विस्तारमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।
औरही नगर सभापति योगेन्द्र यादवले वडा तहको संगठनलाई सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउन १५औँ वडाअधिवेशन महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले सर्वसम्मत रूपमा चयन भएका वडासभापतिहरूले पार्टीको नीति, सिद्धान्त र विधानअनुसार संगठन विस्तार तथा सुदृढीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
स्थानीयस्तरका समस्या तथा जनअपेक्षालाई प्राथमिकताका साथ सम्बोधन गर्दै पार्टी संगठनलाई जनतासँग थप निकट बनाउनुपर्नेमा जोड दिँदै उहाँले नेता तथा कार्यकर्ताबीच एकता, अनुशासन, समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो।
नवनिर्वाचित वडासभापतिहरूले आफूहरूलाई दिइएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन तथा जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउन सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
सौहार्दपूर्ण र लोकतान्त्रिक वातावरणमा सम्पन्न अधिवेशनले औरही नगरपालिकामा नेपाली कांग्रेसको संगठनलाई वडा तहदेखि थप व्यवस्थित र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास सहभागीहरूले व्यक्त गर्नुभएको छ।




