महोत्तरी – महोत्तरीको औरही नगरपालिका–१, औरही बजारस्थित श्री जनता आधारभूत विद्यालय (कक्षा ०–८) मा सात महिनापछि विद्यालय व्यवस्थापन समिति गठन भएको छ।
विद्यालय व्यवस्थापन समिति विगत सात महिनादेखि गठन हुन नसकेको अवस्थामा सोमबार दिउँसो १ बजे आयोजित अभिभावक भेलाबाट चार जना सदस्य सर्वसम्मत रूपमा चयन गरिएको हो।




औरही नगरपालिकाका शिक्षा शाखा प्रमुख धनबहादुर राईको प्रमुख आतिथ्य तथा औरही नगरपालिका–१ का कार्यवाहक वडा अध्यक्ष सुशीलकुमार साहको उपस्थितिमा सम्पन्न भेलाले राजनारायण सदा, प्रीतम साह, श्रीपतीदेवी साह र पवितादेवीलाई विद्यालय व्यवस्थापन समितिको सदस्यमा सर्वसम्मत चयन गरेको छ।

चयन भएका चार जना सदस्यमध्येबाट समितिको अध्यक्ष आगामी बैठकबाट चयन गरिने जनाइएको छ।
भेलामा विद्यालयका अभिभावक, शिक्षक, स्थानीयवासी, बुद्धिजीवी, उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा महिलालगायतको सहभागिता रहेको थियो। सहभागीहरूले विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको नियमित उपस्थिति, भौतिक पूर्वाधार विकास तथा विद्यालयको व्यवस्थापकीय पक्षलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

शिक्षा शाखा प्रमुख राईले विद्यालय व्यवस्थापन समिति गठन भएपछि विद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधि थप व्यवस्थित हुने बताउनुभएको थियो। उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक, व्यवस्थापन समिति र स्थानीय समुदायबीच प्रभावकारी समन्वय तथा सहकार्य आवश्यक रहेको धारणा राख्नुभएको थियो।

कार्यवाहक वडा अध्यक्ष साहले लामो समयदेखि व्यवस्थापन समिति विहीन रहेको विद्यालयमा समिति गठन हुनु सकारात्मक भएको बताउनुभएको थियो। उहाँले विद्यालयको समग्र विकास तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधारका लागि सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो।
औरही नगरपालिका–१ का अभिभावक रामब्रण मण्डलले अभिभावकको सहभागितामा सर्वसम्मत रूपमा व्यवस्थापन समिति गठन हुनु सकारात्मक भएको बताउनुभएको थियो। उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीको भविष्य निर्माणका लागि शिक्षक, अभिभावक र व्यवस्थापन समितिबीच निरन्तर समन्वय आवश्यक रहेको धारणा राख्नुभएको थियो।

औरही बजारका स्थानीय राजु चौधरीले पनि लामो समयपछि विद्यालय व्यवस्थापन समिति गठन हुनु विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय सुधारका लागि महत्वपूर्ण भएको बताउनुभएको थियो। उहाँले विद्यालयको भौतिक पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर सुधारमा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभएको थियो।
विद्यालय व्यवस्थापन समिति गठन भएपछि विद्यालयका शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय गतिविधि थप व्यवस्थित हुनुका साथै विद्यालयको समग्र विकासमा अभिभावक तथा स्थानीय समुदायको सहभागिता बढ्ने अपेक्षा गरिएको छ।





